पोखरामा आलु महोत्सव सुरु

कास्की- पर्यटकीय नगरी पोखराको हेमजामा आलु महोत्सव सुरु भएको छ ।
“सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक” भन्ने नाराका साथ आजदेखि सुरु महोत्सव १४ औं संस्करणको हो । उक्त महोत्सव यही वैशाख ५ गतेसम्म संचालन हुनेछ ।
महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको बृहत प्रदर्शन, आलुको ठुलो पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, वोट विरुवा, परीक्षण तथा रोगको निधान, कृषक र कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम हुनेछन् ।
त्यस्तै कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारका प्रस्तुति लगायत विभिन्न कृषि उपज विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी लगायतका गतिविधि पनि संचालन गरिने आयोजक विष्णुपादुका क्लवका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवको आज पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभयो । महोत्सव सुरु हुनुपुर्व हेमजा स्थित विष्णुपादुका माईस्थानबाट बाजा गाजा सहित झाँकी ¥याली निकालियो । उक्त ¥याली मिलनचोक, साझाचोक हुँदै महोत्सव स्थल विष्णुपादुका खेलमैदान प्रवेश गरेको हो ।
हेमजाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफल मध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिदै आएको छ । यस खेतीमा त्यहाँका करिव २ हजार घरपरिवार आवद्ध रहेपनि १ हजार ५० कृषकले व्यवसायिक आलु खेती गर्दै आउनुभएको छ ।
जसको प्रति रोपनी औसत उत्पादन लागत रु.१८ हजार ५ सय ९७ पर्ने र औसत उत्पादन ७ सय ९ केजी हुने गरेको उल्लेख छ ।
महोत्सवमा आलुको परिकारका अलवा ३० वटा अन्य कृषि स्टल रहेका छन् ।





प्रतिक्रिया राख्नुहोस्