सवारी दुर्घटना रोक्ने पहल गर्न र उद्धार कार्यलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

धादिङ – गृह मन्त्री सुदन गुरुङले पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनापछि उद्धार कार्यलाई प्रभावकारी बनाउन विभिन्न स्थानमा सशस्त्र प्रहरीका उद्धार टोली राख्नुपर्नेमा जोड दिनुभएको छ।

मन्त्री गुरुङले हिजो सशस्त्र प्रहरीको राजमार्ग सुरक्षा बेस क्याम्प आदमघाटको निरीक्षण गर्दै सो कुरा बताउनुभएको हो। पृथ्वी राजमार्गको करिब ८० किलोमिटर क्षेत्र हेर्नका लागि धादिङको आदमघाटमा स्थापना गरिएको राजमार्ग सुरक्षा बेस क्याम्पले निकै लामो दूरी सम्हाल्नुपरेको भन्दै उक्त दूरी घटाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

आवश्यक स्रोत–साधन र जनशक्तिको अभावका बाबजुद पनि राजमार्गमा हुने हरेक सवारी दुर्घटनामा उद्धारका लागि आदमघाटबाटै सशस्त्र प्रहरीको टोली परिचालन हुँदै आएको छ। तर दूरीका कारण समयमा उद्धार गर्न नसक्दा र स्रोत–साधनको अभावले दुर्घटनामा परेकालाई समयमै उपचार केन्द्रसम्म पुर्‍याउन कठिनाइ हुने गरेको, जसका कारण मानवीय क्षति हुने गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार पर्याप्त उद्धार सामग्रीको अभावले थप समस्या सिर्जना भएको छ। राजमार्गमा सवारी दुर्घटना हुँदा आवश्यक आधुनिक उद्धार उपकरण नहुँदा ठूलो चुनौती सामना गर्नुपरेको उद्धारमा खटिने सशस्त्र प्रहरी टोलीले मन्त्री गुरुङसमक्ष गुनासो गरेका थिए।

सोही क्रममा मन्त्री गुरुङले उद्धारमा प्रयोग हुने सामग्रीहरूको निरीक्षण गर्नुभएको थियो। उहाँले उद्धार टोलीका लागि आवश्यक आधुनिक उपकरण उपलब्ध गराउनुपर्नेमा पनि जोड दिनुभएको छ।

पृथ्वी राजमार्गको धादिङ क्षेत्रमा मात्रै दैनिक साना–ठूला गरी चारदेखि पाँचवटा सवारी दुर्घटना हुने गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.