कोरलानाकामा जीप दुर्घटना, चालक घाइते

मुस्ताङ- काठमाडौँ पोखरा हुँदै मुस्ताङको नेपाल-चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग१च २२५५ नम्बरको ‘टोयटा हायस जीप’ दुर्घटना हुँदा काठमाडौँ तारकेश्वर नगरपालिका–५ टोखा निवासी जिप चालक ३१ वर्षीय नागमिन सुब्बा घाइते भएका छन् ।
जीपमा चालकसहित पाँच जना यात्रु थिए ।
कोरलानाका नजिकै अनियन्त्रित भई आज बिहान जीप दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार कोरलानाकास्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो ।
घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्धार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।।






प्रतिक्रिया राख्नुहोस्