बुधबार देशका विभिन्न क्षेत्रमा तीव्र गतिको हावाहुरी चल्ने,सतर्कता अपनाउन आग्रह
आज रातिबाट प्रि-मनसुन सक्रिय हुने,धेरै स्थानमा पानी पर्ने

काठमाडौँ- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले भोलि बुधबार साँझ देशका विभिन्न क्षेत्रमा हावाहुरी पनि चल्ने सम्भावना रहेको जानकारी दिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिमका डडेलधुरा र डोटीसहित आसपासका जिल्ला, लुम्बिनीका बर्दिया, बाँके, दाङ र अर्घाखाँचीसहित आसपासका जिल्लामा हावाहुरीको सम्भावना छ।
त्यस्तै, मधेशका धनुषा र बारासहित आसपासका जिल्ला र कोशीका मोरङसहित आसपासका जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
यसै गरी महाशाखाले गत शनिबारदेखि पानी पर्ने, बादल लाग्ने भइरहेकामा आज रातिबाट भने प्रि-मनसुन सक्रिय हुने देखिएको बताएको छ ।
पश्चिमी र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा पानी पर्ने आकलन छ।
त्यस्तै, बुधबार कर्णाली र सुदूरपश्चिमका केही स्थानमा पनि पानी पर्ने देखिन्छ। तर, कोशीका पहाडी भूभागका एक–दुई स्थानमा भने ठुलो वर्षाको पनि सम्भावना छ। बिहीबार भने मौसममा केही सुधार हुने छ।







प्रतिक्रिया राख्नुहोस्