राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक सक्रिय भई आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न सधैँ सफलता प्राप्त होस्’ भनी शुभकामना दिनुभएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवस (मे ३), २०२६ का अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण पत्रकार, नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “स्वतन्त्र पत्रकारितामार्फत सत्यको अन्वेषण र तथ्यको सम्प्रेषण गरी समाजमा सही तथा सत्य कुरा स्थापित गर्न विशेष ध्यान दिनु पर्दछ ।”

प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएकाले लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा प्रेसको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै महत्त्वपूर्ण हुने र प्रेस जति निष्पक्ष, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था पनि त्यति नै सुदृढ हुँदै जाने उहाँको भनाइ छ ।

राष्ट्रपति पौडेलको शुभकामना सन्देशमा भनिएको छ, “प्रेस स्वतन्त्रता सुनिश्चित गर्दै पत्रकारलाई सञ्चार कार्य गर्नका लागि सुरक्षित वातावरण हुनु पर्दछ, हाम्रो संविधानले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको प्रत्याभूत गरेको छ । सूचना सङ्कलनदेखि प्रवाह गर्ने प्रक्रियासम्म स्वतन्त्र एवं निर्वाध रूपमा संलग्न भई समाचार सम्प्रेषण गरी सबै वर्ग एवं समुदायको आवाज मुखरित हुनुपर्दछ ।”

बढ्दो सामाजिक सञ्जालको प्रयोग तथा यसका माध्यमबाट प्रवाहित हुनसक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा विद्यमान प्रणालीलाई कमजोर बनाउने चुनौती हाम्रोसामु भएको उल्लेख गर्दै राष्ट्रपति पौडेल त्यस्ता चुनौतीको सामना गर्दै जनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना प्रवाह गर्न आजको दिनले नेपाली प्रेस जगत्लाई थप ऊर्जा, हौसला र उत्प्रेरणा देओस् भन्ने कामना गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.