कोरलानाकामा खानेपानी समस्या समाधान गरिँदै

मुस्ताङ- उत्तरी कोरलानाका क्षेत्रमा शुक्रबार खानेपानी बोरिङ योजनाको शिलान्यास गरिएको छ । लोमान्थाङ गाउँपालिकाको चालु अर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार कोरलानाकाको दशगजा क्षेत्र नजिकै खानेपानीको व्यवस्था मिलाउन बोरिङ खानेपानी योजना कार्यान्वयनमा ल्याइएको हो ।
कोरलानाकाको नेपालतर्फ खानेपानीको व्यवस्था नहुँदा कोरलानाकामा त्रिपाल टाँगेर ब्यापार व्यवसाय चलाएका स्थानीय ब्यापारी, कोरलानाका अवलोकनमा गएका पर्यटक तथा कोरलानाकाबाट आयात/निर्यात गर्ने ब्यापारी तथा चालकलाई निकै ठुलो समस्या पर्दैआइरहेको थियो । स्थानीय ब्यापारी, पर्यटक र कोरलानाकाबाट आयात/निर्यात गर्ने ब्यापारीलाई खानेपानीको समस्या समाधान गर्न लोमान्थाङ गाउँपालिकाले यसप्रकारको अग्रसरता देखाएको हो ।
कोरला खानेपानी बोरिङ योजनाको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा अध्यक्ष गुरुङले बोरिङ खानेपानी योजनाले नाकामा ब्यापार व्यवसाय गर्ने, कोरलानाकाको अवलोकन गर्न आउने पर्यटक र कोरलानाकाबाट आयात तथा निर्यात गर्ने ब्यापारी लाभान्वित हुने बताउनुभयो ।
विगतका वर्षमा पनि कोरलानाकामा बोरिङमार्फत खानेपानी व्यवस्था गर्ने प्रयास सफल हुन नसकेपनि यसपटक खानेपानीको योजनाले मूर्तरूप पाएको अध्यक्ष गुरुङले बताउनुभयो ।
खानेपानीको व्यवस्थापन गर्ने गरी गाउँपालिकाले कोरलानाकामा शौचालय निर्माण गरिरहेको बताउनुभयो ।
कोरलानाकामा बोरिङबाट खानेपानीको व्यवस्था मिलाउन लोमान्थाङ गाउँपालिकाले एशियन कन्स्ट्रक्सन एण्ड ड्रिलिङ दोलखासँग भ्याटसहित ३० लाख लागतमा सम्झौता गरी योजनाको काम सुरु भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिनुभयो ।
कन्स्ट्रक्सनले कोरलानाकामा बोरिङबाट खानेपानी निकाल्न उपकरणसहित कार्यक्षेत्रमा परिचालन भइसकेको प्रमुख प्रशासकीय अधिकृत लम्सालको भनाइ छ ।
यसअघि नेपाल–चीन कोरलानाका क्षेत्रमा खानेपानीको व्यवस्था नहुँदा त्यहाका ब्यापारी तथा पर्यटकलाई निकै ठुलो समस्या पर्ने गरेको थियो । नाकामा खानेपानी नहुँदा त्यहाका ब्यापारी तथा पर्यटकले खानेपानी तथा शौचालय नभएको गुनासो गर्ने गरेका थिए ।
कोरलानाका स्थित २४ नं सीमास्तम्भको दशगजा क्षेत्रमा लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाभित्रका करिव ८० भन्दा त्रिपाल ब्यवसायीले चिनिया सामान बिक्री गर्न बसेका छन् । कोरलानाका खुलेको दुई वर्ष बढी बितिसक्दा नाकामा खानेपानी र शौचालयको व्यवस्था हुन सकेको थिएन ।
कोरलानाकाका त्रिपाल ब्यापारीले कोरलानाकादेखि यता उत्तर लोमान्थाङ–२ नेचुङबाट खानेपानी ढुवानी गर्ने गरेका थिए । खानेपानीको योजनाअघि बढेसँगै कोरलानाकाका व्यापारीहरु खुसी भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्