सीमा विवादमा झडप हुँदा ६ जना घाइते, ४ जनाको हेलिकोप्टरबाट उद्धार

काठमाडौँ- हुम्ला र बाजुराको रानीसैनामा सीमा विवाद हुँदा स्थानीयको आक्रमणबाट घाइते भएका चार जनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।

बाजुराको हिमाली गाउँपालिका र हुम्लाको खार्पुनाथ गाउँपालिका-२ को सिमानामा पर्ने लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माण भइरहेको बेला हुम्लाको खार्पुनाथ-२ थालीका बासिन्दाले आक्रमण गरेका थिए । सो आक्रमणबाट ६ जना घाइते भएका थिए ।

यसअघि खार्पुनाथका स्थानीयले सो क्षेत्रमा सल्लाह गरेर मात्र प्रहरी चौकी बनाउन भन्दै पटक पटक बाजुराको प्रशासनलाई आग्रह गरेको हाम्रा हुम्ला संवाददाता नरजङ तामाङले जानकारी दिए ।

आक्रमणमा परी हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलबहादुर थापा, वडा नम्बर ३ का वडासदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङ तथा प्रहरी चौकी विच्छ्यामा कार्यरत प्रहरी सहायक हवल्दार महेश धामी घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो ।

घाइते भएकामध्ये चार जनालाई हेलिकप्टरमार्फत कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताउनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले नै खर्च व्यहोर्ने गरी निजी कम्पनीको हेलिकप्टरमार्फत घाइतेको उद्धार गरिएको हो ।

आक्रमणमा परी घाइते भएका वडा नम्बर ३ का वडा सदस्य पेमा गारा गुरुङ, उहाँकी श्रीमती लक्ष्मी गुरुङ, स्थानीय मीनु कुँवर र नरबहादुर गुरुङलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.