‘मगर सङ्ग्रहालय’ नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम

म्याग्दी- अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो ।

समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुदायका छन् ।

अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम पुर्जाले सयौँ वर्षअघि स्थानीय सीपको प्रयोग गरेर निर्माण गरिएका मौलिक घरहरु भएको लेकगाउँमा परम्परागत मगर जीवनशैली र संस्कृति जीवित रहेकाले बस्तीलाई नै ‘मगर म्युजियम’ भनिएको बताउनुभयो ।

“पुर्खाहरुले स्थानीय सीप र सामग्रीको प्रयोग गरेर बनाएका मौलिक ढुङ्गेघरहरु मात्र नभएर अर्मपर्म गरेर खेतीबाली लगाउने, घुुम्ती गोठमा पशुपालन गर्ने, पुर्ख्यौली नाच्ने, भूमे पूजा गर्ने पुुरानो चलनले निरन्तरता पाएको छ,” उहाँले भन्नुभयो, “मगर समुदायको संस्कार, संस्कृति, कला र सीपको अध्ययन स्थलका रुपमा लेकगाउँलाई विकास गर्ने प्रयासमा छौँ ।”

संस्कृतिसँगै लेकगाउँ प्राकृतिक रुपमा सुन्दर र रमणीय छ । लेकगाउँको पृष्ठभूमिमा धौलागिरि, अन्नपूर्ण, नीलगिरि, मानापाथी र बराह शिखर हिमाल छन् । अन्नपूर्ण हिमालबाट हिउँपहिरो खसेको दृश्य नजिकबाट नियाल्न सकिन्छ । लेकगाउँको नजिकै समथर स्वाँराफाँट छ । स्वाँराफाँटमा स्थानीयवासीले खाद्यबाली खेती गर्छन् । हिउँदमा गाईभैँसी र भेडाबाख्राको घुम्ती गोठ राख्छन् ।

वनस्पतिविद् कमल मादेनको नेतृत्वमा केही वर्षअघि आएको टोलीले स्वाँराफाँट धेरै प्रजातिका चराहरुको बासस्थान र नजिकैको जङ्गलमा प्रशस्त जडीबुटी पाइने प्रतिवेदन सार्वजनिक गरेको थियो । खोप्रा लेकको फेदीमा रहेको लेकगाउँ हुँदै अन्नपूर्ण आधार शिविर पनि जान सकिन्छ ।

घोडेपानी, बयली, खोप्रा हुँदै नारच्याङ जोड्ने पदमार्ग रहेको छ । प्रचारप्रसारको अभावमा पर्यटकहरुको आगमन हुन नसकेको वडा सदस्य पुर्जाले बताउनुभयो । पर्यटकको सुविधाका लागि लेकगाउँमा रेष्टुरेन्ट र घरबास छन् । पर्यटकले चाहनाअनुुसार होटल र घरबासमा बस्न सक्छन् । घुम्तीगोठमा पालिएका गाईभैँसी र भेडाबाख्रा अवलोकन गर्न पाइन्छ । लेकगाउँमा मगर संस्कार र जीवनशैलीको नजिकबाट अवलोकन गर्न पाइने गुल्मीबाट आउनुभएका होमनाथ पाण्डेले बताउनुभयो ।

बेनी–जोमसोम सडकमा पर्ने भुरुङ्ग तातोपानी हुँदै लेकगाउँ जाने क्रममा नारच्याङ बेँसीमा रहेको नारच्याङ झरना अवलोकन गर्न सकिन्छ । भुरुङ्ग तातोपानीदेखि दुई घण्टा पैदलयात्रा र एक घण्टा गाडीको यात्रा गरेपछि लेकगाउँ पुगिन्छ । लेकगाउँबाट नारच्याङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् आयोजनाहरुको अवलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण गाउँपालिका–४ का वडाअध्यक्ष लोकबहादुर फगामीले लेकगाउँ हुँदै खोप्रा र अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने बासबोटलाई पदमार्गले जोडिएको बताउनुभयो । पूर्वाधार निर्माणसँगै लेकगाउँको संस्कृति र प्राकृतिक सौन्दर्यको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने, विदेशिएका र बजार गएकाहरुलाई गाउँ फर्काउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.