नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन- जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।

उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै भन्नुभयो “अत्याधुनिक उपकरण जडान गरेर कच्चा पदार्थ तयार गरेर निर्यात गर्न सुरुआत गरेका छौँ ।” स्वदेशी उद्यमीको संयुक्त लगानीमा रु एक अर्ब ३० करोड सञ्चालनमा आएको जनाइएको छ ।

उद्योगमा कच्चा पदार्थ र त्यसबाट बन्ने क्यान्सरका औषधिहरु उत्पादनका लागि काम भइरहेको छ । उहाँले भन्नुभयो, “क्यान्सरको औषधिको कच्चा पदार्थ उत्पादन गरी निर्यात गरेका छौँ ।”

क्यान्सरको औषधि आयत हुँदै आएको छ । उद्योगले १०–१२ प्रकारका कच्चा पदार्थ उत्पादन गर्ने लक्ष्य लिएको छ । हाल दुई कच्चा पदार्थ उत्पादन गरिसकेको छ । लौठ सल्लोलाई प्रशोधन गरेको सहायक कच्चा पदार्थ ‘टेन ड्यब थ्री’बाट अन्य केमिकल प्रयोग गरी ‘प्याक्लिट्याक्सल’ र ‘डोसीट्याक्सल’ कच्चा पदार्थ उत्पादन गरेको उहाँको भनाइ छ ।

हेटौँडाको बसामाडीमा रहेको इभान्स लाइफ साइन्स नामक उद्योगबाट लौठ सल्लो प्रशोधन गरी सहायक कच्चा पदार्थ उत्पादन गरी यहाँ ल्याएर पुनः प्रशोधन गरिएको उहाँको भनाइ छ । प्रशोधन गरेपछि कच्चा पदार्थ तयार हुने गर्दछ । त्यही तयारी कच्चा पदार्थ दुई किलो पाँचसयग्राम ‘सेभेन ट्रक प्याक्लिट्याक्सल’ मंगलबार भारत निर्यात गरिएको हो ।

आफूहरुले उत्पादन गरेको कच्चा पदार्थ उत्पादन परीक्षण गरी अनुमति समेत प्राप्त गरिसकेको उहाँको भनाइ छ । कच्चा पदार्थ निर्यात गर्न भारतीय कम्पनीलाई नमूना पठाइएको र नमूना सफल भएसँगै भारतमा कच्चा पदार्थ निर्यात गरिएको उहाँले जानकारी दिनुभयो । यो कच्चा पदार्थ रु आठ लाखदेखि २५ लाखसम्म प्रतिकिलो मूल्य पर्दछ । कच्चा पदार्थको ‘ब्राण्ड’ नाम हुँदैन ।

उहाँले पाकिस्तान, बङ्गलादेशलगायतका एसियाली देशहरुमा निर्यात गर्ने आफूहरुको योजना रहेको जानकारी दिनुभयो । नेपालका ४० देखि ४५ जिल्लामा यो लौठसल्लो पाइने जनाउँदै उहाँले वार्षिक एक हजार ५०० टन लौठसल्लोबाट दुईदेखि तीन हजार किलोसम्म कच्चा पदार्थ उत्पादन गर्न सकिने जानकारीदिनुभयो ।

उद्योगमा नै रहेको अर्काे भवनमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने औषधिको समेत उत्पादन गर्ने तयारी आफूहरुले गरिरहेको उहाँको भनाई छ ।

उद्योगमा मासिक ७० देखि ८० किलो कच्चा पदार्थ उत्पादन गर्नसक्ने क्षमता रहेको जनाइएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.