आगामी वर्ष १६ खर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य

काठमाडौँ– अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रार्हस्थ्य उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनुभएको छ ।
नेपाल आर्थिक पत्रकार सङ्घले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको बताउनुभयो ।
उहाँले प्रक्षेपित कुल गार्हस्थ्य उत्पादन ७४ खर्बका आधारमा सात प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
कुल गार्हस्थ्य उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै अर्थमन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पुराना कार्यक्रमको दायित्व रहेको त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिनुभयो ।
अर्थमन्त्री वाग्लेले विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट)बाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पमा छलफल भइरहेको जानकारी दिनुभयो ।
मन्त्री वाग्लेले आयमा आधारित करभन्दा उपभोगमा आधारित कर प्रभावकारी हुने तथा उपलब्धि हासिल गर्न सकिने भएकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाइएको प्रस्ट पार्नुभयो ।
नेपाल राष्ट्र बैङ्कको कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको आधार विप्रेषण रहेको बताउँदै यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठ र सङ्घका अध्यक्ष मेनुका कार्कीले बजेटको स्वागत गर्दै त्यसको सफल कार्यान्वयनमा जोड दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्