जातीय छुवाछूत उन्मूलन दिवसमा रामेछापका १७ जना दलित सम्मानित

रामेछाप– जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा रामेछापमा १७ जना दलित व्यक्तित्व सम्मानित भएका छन्। दलित समुदायको सामाजिक, शैक्षिक, सांस्कृतिक तथा सामुदायिक विकास तथा सामाजिक रूपान्तरणमा पुर्याएको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको हो।
नेपाल राष्टिय दलित समाज कल्याण संघ रामेछापको आयोजनामा भएको कार्यक्रममा सम्मानित व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो। कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख, पत्रकार, अधिकारकर्मी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले जातीय विभेद अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना र व्यवहारमा परिवर्तन आवश्यक रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले संविधानले सुनिश्चित गरेका समानता र सामाजिक न्यायका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनुभयो।
उहाँले जातीय विभेदका घटनाप्रति प्रशासन गम्भीर रहेको समेत उल्लेख गर्नुभयो। रामेछापका प्रहरी प्रमुख सन्तुलाल प्रसाद जैसवालले जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी कुनै पनि गतिविधि कानुनविपरीत भएकाले यस्ता घटनामा संलग्नमाथि कानुनी कारबाही गरिने स्पष्ट पार्नुभयो। उहाँले सामाजिक सद्भाव र मानव अधिकारको सम्मान कायम राख्न सबै समुदायको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक घिमिरेले दलित समुदायका मुद्दा र सरोकारलाई सञ्चारमाध्यमले प्राथमिकताका साथ उठाउँदै आएको उल्लेख गर्दै विभेदमुक्त समाज निर्माणमा सञ्चार क्षेत्रको भूमिका अझ प्रभावकारी हुनुपर्ने धारणा राख्नुभयो।
दलित अधिकारकर्मी रामचन्द्र विकले स्थानीय तहहरूले दलित समुदायको शिक्षा, रोजगारी, सीप विकास, उद्यमशीलता तथा नेतृत्व विकासका क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले नीति तथा कार्यक्रम निर्माणदेखि कार्यान्वयन तहसम्म दलित समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।।






प्रतिक्रिया राख्नुहोस्