विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल प्रारम्भ

काठमाडौँ– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ माथिको छलफल प्रारम्भ भएको छ । सभाको आजको बैठकमा विभिन्न नौ मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहीकृतरुपमा छलफल सुरु भएको हो ।
बैठकमा युवा, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि, वन तथा पर्यावरण, सूचना तथा सञ्चार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा खाद्य स्वच्छता, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि छलफल हुनेछ ।
सभामुख डोलप्रसाद अर्यालले आजका लागि शून्य र विशेष समय नराखिएको जानकारी गराउँदै खर्च कटौतीको प्रस्ताव राख्ने सांसदहरुलाई आफ्नो प्रस्तावसहित उल्लिखित विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिन समय दिनुभएको छ ।
सभामा सांसद कृपाराम राना, पार्वती विक, जोगकुमार बरबरिया, सन्तोष सुब्बा, नीता घतानी, परशुराम तामाङ, अर्जुनकुमार कार्की, नरेन्द्रकुमार केरुङ, रमेशकुमार मल्ल, साजिदा खातुन सिद्धिकी, युवराज दुलाल र एशुदाकुमारी बरालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३÷८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्नुभएको थियो । सभामा यसअघि बजेटमाथि सामान्य छलफल र अर्थमन्त्रीबाट जवाफ दिने कार्यक्रम सम्पन्न भइसकेको छ ।
त्यसअघि बैठकमा सभामुख अर्यालले प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिमा सदस्यको नाम हेरफेरको प्रस्ताव गर्नुभयो । उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।






प्रतिक्रिया राख्नुहोस्