धादिङको नृसिंहधाममा पहिलो पटक सवा करोड दीप प्रज्वलन

धादिङ- जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाममा एक महिनासम्म सञ्चालन भएको पुरुषोत्तम महामहोत्सव सवा करोड बत्ती प्रज्वलन गर्दै सम्पन्न भएको छ।
महोत्सव अवधिभर करिब ३५ लाखभन्दा बढी धार्मिक पर्यटकले नृसिंहधामको दर्शन गरेको आयोजकले जनाएको छ।
बुढीगण्डकी र आँखुखोलाको संगमस्थलमा रहेको धार्मिक तथा ऐतिहासिक महत्वको नृसिंहधाममा पहिलो पटक पुरुषोत्तम महामहोत्सव आयोजना गरिएको हो।
आयोजकका अनुसार यति ठूलो संख्यामा धार्मिक पर्यटक भित्रिएको घटना जिल्लाकै इतिहासमा पहिलो पटक हो।
नृसिंहधाम क्षेत्रलाई जिल्लाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको हो ।
महोत्सवमा करिब पाँच करोड रुपैयाँ दान संकलन भएको समेत आयोजकले जनाएको छ।
धार्मिक रूपमा विशेष महत्व बोकेको नृसिंहधामलाई देशकै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न केन्द्र र प्रदेश सरकारको विशेष सहयोग आवश्यक रहेको स्थानीय तहका जनप्रतिनिधिहरूको भनाइ छ।
स्कन्द पुराण र वराह पुराणमासमेत उल्लेख गरिएको नृसिंहधामलाई भगवान् नृसिंहदेव प्रकट भएको पवित्र स्थलका रूपमा लिने गरिन्छ।
भक्त प्रह्लादको रक्षा तथा हिरण्यकश्यपको वधसँग जोडिएको पौराणिक मान्यताले यस क्षेत्रको धार्मिक महत्व अझ बढाएको छ।
स्थानीयवासीका अनुसार नृसिंहधामसहित उत्तरी धादिङका धार्मिक तथा प्राकृतिक सम्पदाको उचित प्रचारप्रसार र पूर्वाधार विकास गर्न सके वर्षभरि नै धार्मिक पर्यटक भित्र्याउन सकिन्छ।
यसबाट स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै क्षेत्रको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।।






प्रतिक्रिया राख्नुहोस्