रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी: खाली जग्गामा अस्थायी सभाहल बनाइँदै

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। आगामी असार ७ देखि ९ गतेसम्म पूर्वी चितवनको रत्ननगरमा हुने तीनदिने महाधिवेशनका लागि सात हजारभन्दा बढी सहभागी अट्ने अस्थायी सभाहल (डोम) निर्माण कार्य सुरु गरिएको छ।
रत्ननगर टांडी स्थित होटल स्टार चितवनको सभाकक्षसँगै रहेको खाली जग्गामा बाँसको संरचनामा आधारित डोम निर्माण भइरहेको छ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार करिब ३२ हजार ४८० वर्गफिट क्षेत्रफलमा निर्माण भइरहेको उक्त डोममा ७ देखि ८ हजारसम्म कुर्सी राख्न सकिनेछ। डोमको बीच भाग २९ फिट र छेउतर्फ १६ फिट अग्लो हुनेछ भने पानी नचुहिने उच्चस्तरीय टेन्ट र त्रिपालले ढाकिने व्यवस्था मिलाइँदैछ।
महाधिवेशनस्थललाई गर्मीबाट सहज बनाउन ७० वटा ठूला पङ्खा र २० वटा कुलर जडान गरिने तयारी गरिएको छ। मुख्य डोम बाहिर थप टेन्टमार्फत सहभागीहरूका लागि बस्ने स्थानसमेत निर्माण गरिनेछ। आवश्यकताअनुसार होटल स्टारको सभाहल पनि प्रयोग गरिने जनाइएको छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिका लागि सौराहा, रत्ननगर र भरतपुरका होटलहरूमा सहुलियत दरमा आवास व्यवस्थापनको पहल भइरहेको छ। उद्घाटनका दिन टिकौलीचौरमा सवारी पार्किङ गरी कार्यक्रमस्थलसम्म आवतजावतका लागि विशेष यातायात व्यवस्था मिलाइनेछ।
पार्टीका प्रवक्ता मनिष झाले असार २ गतेदेखि महाधिवेशन सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका पदाधिकारी तथा नेताहरू महाधिवेशनस्थलमा रहने जानकारी दिए।
करिब तीन हजार प्रतिनिधि सहभागी हुने महाधिवेशनमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेतासहित छिमेकी मुलुकका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको छ। उद्घाटनपछि विधानमाथि छलफल तथा नयाँ नेतृत्व चयन गरी महाधिवेशन सम्पन्न गरिने कार्यक्रम रहेको छ।






प्रतिक्रिया राख्नुहोस्