होल्डिङ सेन्टर’का सुकुम्वासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रियसभाको आजको बैठकको  शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले  राष्ट्रिय धान दिवस मनाइरहँदा  पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिनुभयो ।
सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्वासीको माग सम्बोधन गर्न  सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सांसद जगत तिमिल्सिनाले नेपालको संविधान, बालबालिकासम्बन्धी ऐनले १८ वर्षमुनिका व्यक्तिलाई पार्टी सदस्यता दिन निषेध गरेको बताउनुभयो ।
सांसद मीना सिंह रखालले राष्ट्रिय धान दिवस मनाइरहँदा  पानी, मल, बीउका अभाव हुन दिन नहुनेतर्फ सरकार सचेत बन्नुपर्छ भन्नुभयो ।
सांसद रञ्जित कर्णले सप्तरी राजविराजमा लाजपुर्जाको माग गर्दै  आन्दोलनरत किसानको माग सम्बोधन गर्न आग्रह गर्नुभयो ।
सांसद रेखाकुमारी झाले नेपाल खानेपानी संस्थान राजविराजमा राज्यकोषबाट सञ्चालिन सेतो नम्बर प्लेटको गाडीमा रातो प्लेट राखेर राज्यस्रोतको दोहन गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद रोशनी मेचेले दलको सदस्य हुनका लागि १८ वर्ष पुग्नुपर्ने कानुनी व्यवस्था रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद वासुदेव घिमिरेले हालैको दशजोड दुईको परीक्षामा केही त्रुटि देखिएकामा आपत्ति जनाउनुभयो । बैठकमा   सांसद सम्झना देवकोटाले गोरखा जिल्लाको हिमाली क्षेत्रमा दुई नाका भए पनि दुवै नाका बन्द भएकाले जनजीवन कठिनाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पर्यटकीय पदमार्गका लागि मात्रै भए पनि नाका खोलाउन माग गर्नुभयो ।
सांसद सोमनाथ पोर्तेलले सुपारीको निर्यातमा रोकिएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै सुपारीको ‘डिएनए’ परीक्षण गर्ने निर्णय तत्काल फिर्ता लिएर किसानलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.