घरआधारित श्रमिकको अधिकार सुनिश्चित गर्न जोड

काठमाडौँ- घरआधारित श्रमिकहरूको पहिचान, सम्मान र अधिकार सुनिश्चित गर्ने उद्देश्यले जारी गरिएको काठमाडौँ घोषणापत्रको २५औँ वार्षिकोत्सव मंगलबार काठमाडौँमा मनाइएको छ।

होमनेट साउथ एशिया (एचएनएसए) द्वारा आयोजित कार्यक्रममा सरकार, स्थानीय तह, कूटनीतिक नियोग, विकास साझेदार, श्रमिक संगठन तथा दक्षिण एशियाका विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले घरआधारित श्रमिकहरूलाई सामाजिक सुरक्षा, श्रम अधिकार र आर्थिक अवसरमा पहुँच विस्तार गर्नुपर्नेमा जोड दिएका थिए। युवा, श्रम तथा रोजगार मन्त्रीले घरआधारित श्रमिकहरूको राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनीहरूको अधिकार र सामाजिक सुरक्षालाई प्राथमिकता दिने बताए।

कार्यक्रममा बंगलादेश, भारत, नेपाल र पाकिस्तानका घरआधारित श्रमिकसम्बन्धी तथ्यपत्र तथा महिला श्रमिकमाथि हुने हिंसाविरुद्धको तालिम पुस्तिका सार्वजनिक गरिएको थियो। साथै ज्ञान आदान–प्रदान, अनुसन्धान र क्षमता विकासका लागि ‘दक्षिण एशिया क्षेत्रीय सिकाइ मञ्च’ को समेत शुभारम्भ गरिएको छ।

सन् २००० मा काठमाडौं घोषणापत्र जारी भएपछि स्थापित एचएनएसएले हाल दक्षिण एशियाका आठ देशका ६२ संस्थामार्फत १२ लाखभन्दा बढी घरआधारित श्रमिकहरूको प्रतिनिधित्व गर्दै आएको जनाएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.