सञ्चारमन्त्रीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूतद्वारा शिष्टातार भेटवार्ता

काठमाडौँ– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

आज मन्त्रालयमा भएको भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेलगायत विकास साझेदारीका विविध आयाम बारे छलफल भएको हो । सञ्चार क्षेत्रको सुदृढीकरण तथा डिजिटल रूपान्तरण, संघीयताको कार्यान्वयनलगायतका विषयहरुमा पनि छलफल भएको छ ।

सो भेटका क्रममा राजदूत अन्स्र्टले नेपाल र अष्ट्रेलियाबीच लामो समयदेखि विकास साझेदारका रूपमा सहकार्य हुँदै आएको उल्लेख गर्नुहुँदै आगामी दिनमा थप सहकार्य गर्न सकिने क्षेत्रहरुबारे चासो व्यक्त गर्नुभयो । लोकतन्त्रको आधारभूत मूल्यका रूपमा अभिव्यक्ति स्वतन्त्रता र विचार स्वतन्त्रताको संरक्षण अपरिहार्य रहेपनि पछिल्लो समय बढ्दो गलत सूचना (मिसइन्फर्मेसन) र दुष्प्रचार (डिसइन्फर्मेसन) चुनौतीका रूपमा देखिएकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको उहाँको भनाइ थियो ।

अष्ट्रेलियाले नेपालमा संघीय शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्न निरन्तर सहयोग गर्दै आएको यसलाई थप संस्थागत बनाउन आवश्यक प्राविधिक तथा संस्थागत सहयोग आगामी दिनमा पनि निरन्तर रहने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले नेपाललाई अष्ट्रेलियाले उपलब्ध गराउँदै आएको विकास सहायताका लागि धन्यवाद व्यक्त गर्नुहुँदै आगामी दिनमा पनि यस्तो सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै, अष्ट्रेलियाले नेपाली विद्यार्थीलाई उपलब्ध गराउँदै आएको छात्रवृत्ति कार्यक्रमको निरन्तरता र आगामी दिनमा थप नेपाली विद्यार्थीले अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्न सक्ने गरी छात्रवृत्तिको दायरा उल्लेख्य रुपमा बढाउन आग्रह गर्नुभयो ।
त्यस्तै, नेपाल सरकारले हुलाक सेवाको आधुनिकीकरण र सुधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यस क्षेत्रमा अष्ट्रेलियाको अनुभव र सफल अभ्यासबाट नेपालले सिक्न चाहेको बताउनुभयो ।

अष्ट्रेलियाले आफ्नो हुलाक प्रणालीलाई कसरी आधुनिक, प्रभावकारी र प्रविधिमैत्री बनाएको छ भन्ने अनुभव आदानप्रदान गर्न तथा नेपालमा पनि त्यस्ता असल अभ्यास लागू गर्न प्राविधिक सहयोगका लागि उहाँले अनुरोध गर्नुभयो । त्यसैगरी, सरकारले डिजिटल नेपाल निर्माणको लक्ष्यअनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने, डिजिटल पूर्वाधार विस्तार गर्ने तथा सूचना प्रविधिमा आधारित सेवा प्रणाली विकास गर्ने दिशामा काम गरिरहेको बताउनुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल रूपान्तरणका क्षेत्रमा पनि अष्ट्रेलियाको सहयोग अपेक्षित रहेको बताउनुभयो ।

त्यसैगरी उहाँले नेपाल मानव अधिकार, प्रेस स्वतन्त्रता तथा अभिव्यक्ति स्वतन्त्रताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो । साथै, स्वतन्त्र प्रेस लोकतन्त्रको आधारस्तम्भ भए पनि पत्रकारिता जिम्मेवार, उत्तरदायी, तथ्यपरक तथा व्यावसायिक हुनुपर्ने तर्फ सरकारले काम गर्न चाहिरहेको सञ्चारमन्त्री डा तिमिल्सिनाको भनाइ थियो ।

पत्रकारहरूको क्षमता अभिवृद्धि, नयाँ प्रविधिको प्रयोग, डिजिटल पत्रकारिता तथा तथ्य परीक्षण (फ्याक्ट–चेकिङ) सम्बन्धी सीप विकासमा सरकारले काम गर्न खोजिरहेको उहाँले बताउनुभयो ।

नेपाल र अष्ट्रेलियाबीचको जनस्तरको सम्बन्ध पछिल्ला वर्षहरूमा थप बलियो बन्दै गएको विषयमा पनि छलफल भएको थियो । शिक्षा, रोजगारी, पर्यटन, विकास साझेदारी तथा सांस्कृतिक आदानप्रदानले दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ठ बनाएको उल्लेख गर्नुहुँदै सञ्चारमन्त्री डा तिमिल्सिनाले यसलाई आगामी दिनमा थप विस्तार गर्ने चाहेको बताउनभयो

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.