गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मतबहादुर रावल नियुक्त

काठमाडौँ- सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले कैलालीका रावललाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

बैठकले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तै, बैठकले नेपाल प्रहरीका आठ प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)लाई सरुवा गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले संलग्न सामुद्रिक कानुनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिअन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका सामुद्रिक जैविक विविधताको संरक्षणदिगो प्रयोगसम्बन्धी सम्झौता (बिबिएनजे) अनुमोदनका लागि सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बैठकले शिक्षा (दशौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गर्ने निर्णय गरेको मन्त्री पोखरेलले बताउनुभयो । राष्ट्रिय सदाचार नीति, २०८३ र राष्ट्रिय विज्ञापन नीति, २०८३ स्वीकृत गर्ने पनि बैठकले निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकले अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समा पेस गर्न स्वीकृति दिएको छ । त्यसैगरी, विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धनकुटाका धर्मराज खड्कालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले कमैया श्रम (निषेध गर्ने) सम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने समेत निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.