नगर प्रहरीहरु नै पक्राउ परेपछि गौशाला नगरपालिकाका सबै सेवा बन्द

महोत्तरी- महोत्तरीको गौशाला नगरपालिकामा ड्युटीमा रहेका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले पक्राउ गरेपछि नगरपालिकाका कर्मचारीहरूले आन्दोलनको घोषणा गर्दै सम्पूर्ण सेवा बन्द गरेका छन् ।

नगरपालिकाले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार बिहीबार साँझ करिब ५ बजे कार्यालयमा ड्युटीमा खटिएका नगर प्रहरीहरूलाई कुनै पूर्वसूचना वा समन्वयबिना नेपाल प्रहरीको टोलीले कार्यालय परिसरबाटै नियन्त्रणमा लिएको थियो।

उक्त घटनाप्रति आपत्ति जनाउँदै कर्मचारीहरूले आफूहरू असुरक्षित महसुस गरेको बताएका छन्।

विज्ञप्तिमा स्थानीय सरकारअन्तर्गत कार्यरत राष्ट्रसेवक कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्दै पक्राउ परेका नगर प्रहरीलाई तत्काल रिहा गर्न तथा नगरपालिकामा कार्यरत कर्मचारीहरूको सुरक्षाको प्रत्याभूति दिन सम्बन्धित निकायसँग माग गरिएको छ।

नगरपालिकाका कर्मचारीहरूले आफ्ना सहकर्मीहरूको पक्राउको विरोधमा पेन–डाउन आन्दोलन सुरु गरेका छन्। उनीहरूले पक्राउ परेका नगर प्रहरीको अविलम्ब रिहाइ तथा कर्मचारीहरूको सुरक्षाको सुनिश्चितता नभएसम्म सेवा प्रवाह नगर्ने निर्णय गरेका छन्।

यस निर्णयसँगै गौशाला नगरपालिकाको केन्द्रीय कार्यालय, सबै वडा कार्यालय, नगरभित्रका स्वास्थ्य संस्था तथा सम्पूर्ण सामुदायिक विद्यालयबाट प्रदान गरिने सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.