बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक
काठमाडौँ- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र पनौती क्षेत्रमा मुसलधारे पानी परे पछि बीपी राजमार्गमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।
रोसीको माथिल्लो क्षेत्रमा परेको वर्षाका कारण दाप्चा खोला र रोसी खोलामा आएको बाढीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन सडक बगाएपछि यातायात अवरुद्ध भएको हो ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । रोसी खोलामा आउन सक्ने बाढीका कारण यात्रुहरू जोखिममा पर्ने भएकाले सुरक्षाका लागि यातायात रोकिएको प्रहरीको भनाइ छ ।
वर्षासँगै दाप्चा र रोसी खोलामा आएको बाढीले बीपी राजमार्गको चौकीडाँडा र कटुञ्जेमा निर्माण गरिएको डाइभर्सन सडकमा क्षति पुर्याएको छ ।
राजमार्ग अवरुद्ध भएपछि सो सडक खण्ड भएर चल्ने सवारी साधनहरूलाई धुलिखेल, काभ्रेभञ्ज्याङ, भकुन्डेबेँसी र मङ्गलटारमा रोकिएको छ ।
वि.सं. २०८१ असोज दोस्रो साता आएको विनाशकारी बाढीले पूर्वी तराई तथा पहाडी जिल्ला जोड्ने बीपी राजमार्गमा ठूलो क्षति पुर्याएको थियो । अहिले काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा राजमार्ग पुनर्निर्माणको काम भइरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्