नेपाल–चीनबीच व्यापार र लगानी प्रवर्द्धनमा सहकार्य विस्तार गर्ने सहमति

काठमाडौं, असार २३ : नेपाल र चीनबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक साझेदारीलाई थप सुदृढ र परिणाममुखी बनाउने सहमति भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादव र नेपाल भ्रमणमा रहेका चीनको वाणिज्य मन्त्रालयका उपमन्त्री यान दोङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलबीच सोमबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटवार्तामा व्यापार, लगानी, औद्योगिक विकास र सीमापार पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्ने विषयमा सहमति भएको हो।

भेटमा मन्त्री यादवले नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नीतिगत सुधार भइरहेको जानकारी दिँदै उत्पादनमूलक क्षेत्रमा चिनियाँ लगानी बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले व्यापार, औद्योगिक विकास, आपूर्ति शृङ्खला सुदृढीकरण तथा पूर्वाधार विकासमा दुई देशबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो।

उपमन्त्री यान दोङले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चीन प्रतिबद्ध रहेको बताउँदै तातोपानी र रसुवा नाकाको व्यापारिक पूर्वाधार निर्माण तथा पुनर्निर्माणमा सहयोग गर्न चीन सकारात्मक रहेको जानकारी दिनुभयो। उहाँले नेपाललाई चीनमा आयोजना हुने विभिन्न व्यापार मेला तथा एक्स्पोमा सहभागी गराउन आवश्यक सहजीकरण गरिने पनि बताउनुभयो।

दोङले नेपालका चिया, जडीबुटी लगायत सम्भावित निर्यातयोग्य वस्तुको बजार सम्भावनाबारे संयुक्त अध्ययन गर्न सकिने प्रस्ताव राख्दै चीनको खुला आर्थिक नीति, वैदेशिक लगानी प्रवर्द्धन र प्रशासनिक सहजीकरणका अनुभव नेपालका लागि उपयोगी हुन सक्ने धारणा व्यक्त गर्नुभयो।

उहाँले चीन नेपालमा वैदेशिक प्रत्यक्ष लगानी (एफडीआई) को प्रमुख स्रोत मुलुकमध्ये एक रहेको उल्लेख गर्दै एकद्वार सेवा प्रणालीमार्फत लगानीकर्तालाई थप सहज र पारदर्शी वातावरण उपलब्ध गराउन सके चिनियाँ लगानी अझ वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।

भेटवार्तामा दुवै पक्षले नेपाल–चीनबीचको आर्थिक साझेदारी, व्यापार तथा जनस्तरको सम्बन्धलाई थप विस्तार गर्दै आपसी हितका क्षेत्रमा सहकार्यलाई सुदृढ बनाउने साझा प्रतिबद्धता व्यक्त गरेका थिए। भेटमा मन्त्रालयका उच्च अधिकारी तथा चिनियाँ प्रतिनिधिमण्डलका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.