अमेरिका र इरानबीचको युद्धविराम सम्झौता भंग भएको राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी- अमेरिकीराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सहमति अब सधैँका  लागि सकिएको बताउनुभएको छ । उहाँले इरानसँगको युद्धविराम सम्झौता र अन्य सबै सहमति अब भंग भएको भन्दै कारवाहीका लागि तयार रहन चेतावनी पनि दिनुभएको बिबीसीले जनाएको छ । 

अमेरिका र इरान दुबैतर्फबाट आक्रमण जारी रहँदै गर्दा राष्ट्रपति ट्रम्पले अब इरानसँग बार्ता र संवादको कुनै अर्थ नरहने उल्लेख गर्नुभयो ।

उता, राष्ट्रपति ट्रम्पले इरानसँगको सैन्य तनावका क्रममा नाटो सहयोगी राष्ट्रहरूको भूमिकाप्रति आफू निकै निराश भएको बताउँदै उक्त सङ्कटलाई सहयोगी राष्ट्रहरूको प्रतिबद्धता परीक्षण गर्ने अवसरका रूपमा प्रयोग गरेको खुलासा पनि गर्नुभयो ।

उहाँले इरानविरुद्धको अमेरिकी अभियानमा अपेक्षित साथ नपाएपछि गठबन्धनको विश्वसनीयतामाथि आफ्ना पुराना शङ्का थप बलियो बनेको पनि बताउनुभएको छ ।

टर्कीको राजधानी अङ्कारामा नाटो शिखर सम्मेलनअघि राष्ट्रपति रेसेप तैयप एर्दोगनसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले अमेरिका अरूलाई सहयोग गर्न सधैँ तयार भए पनि आवश्यक पर्दा सहयोगी राष्ट्रहरू अमेरिकाको पक्षमा उभिन्छन् कि उभिँदैनन् भन्ने विषय आफूले परीक्षण गर्न खोजेको बताउनुभयो ।

इरानविरुद्धको अमेरिकी कारबाहीलाई ट्रम्पले पूर्ण युद्ध नभई लक्षित सैन्य अभियान र आणविक निःशस्त्रीकरणका लागि गरिएको अपरेसनको संज्ञा दिनुभयो । उहाँले टर्कीसँग पर्याप्त सैन्य क्षमता भए पनि अङ्काराले जानाजानी प्रत्यक्ष युद्धमा संलग्न नहुने नीति अपनाएको उल्लेख गर्नुभयो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.