दुर्घटनामा परेको पेट्रोल ट्याङ्करमा आगलागी

रौतहट- रौतहटको धनसार जंगलमा सडकमा आएको मृगलाई जोगाउने प्रयास गर्दा पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनामा परेर आगलागी भएको छ।
अत्यधिक ज्वलनशील पदार्थ बोकेको ट्याङ्करमा आगो लागे पनि चालक सकुशल बाहिर निस्कन सफल भएपछि ठूलो मानवीय क्षति टरेको छ।

बिहीबार बिहान पूर्व-पश्चिम राजमार्गअन्तर्गत गुजरा नगरपालिका–३ धनसार पुल नजिक बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल ट्याङ्कर सडकमा अचानक आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको थियो।
पल्टिनासाथ ट्याङ्करमा भीषण आगलागी भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा निजगढ नगरपालिकाको दमकल घटनास्थलमा पुगेर संयुक्त रूपमा आगो नियन्त्रणमा लिएका थिए।
आगलागीका कारण ट्याङ्कर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमले जानकारी दिए।
ट्याङ्कर चालक बाराको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।।






प्रतिक्रिया राख्नुहोस्