अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति

काठमाडौँ- अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि बिरेठाँटी-घान्द्रुक बीचको सम्पर्क टुटेको छ । अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्‍याउनुका साथै एउटा कच्ची घर बगाएको छ ।

बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । बाढीका कारण बिरेठाँटी बजारका सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण-७, ८, ९, १० र ११ का सडक पनि अवरुद्ध भएका छन् । मोदी खोलामा आएको बाढीले बिरेठाँटीका ४४ वर्षीय विजय गुरुङको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा बगाएको हो ।

यसैगरी स्थानीय ४० वर्षीया माया पाइजाको टिनले छाएको कच्ची टहरा पनि बाढीको उच्च जोखिममा परेको छ । जोखिम बढेपछि चार सदस्यीय उनको परिवारलाई स्थानीय छिमेकीको घरमा सारिएको गाउँपालिकाले जनाएको छ । त्यसैगरी, अन्नपूर्ण गाउँपालिका-१० स्याउलीबजारमा रहेको स्याउलीबजार र वडा नं ७ हवाली जोड्ने फलामे पैदल झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग बाढीले बगाउँदा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा ‘मेटल पुल’ बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पुर्‍याएको छ । बाढीले नयाँ पुल क्षेत्रमा रहेको विद्युत्का खम्बासमेत बगाएको छ भने सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । अन्नपूर्ण-५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको भने हिजो सकुशल उद्धार गरिएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.