बालिका हत्याको विषयलाई लिएर बारामा स्थानीयको विरोध

बारा- बारामा बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयले सडकमा विरोध गरेका छन ।
जीतपुरसिमराका स्थानीय र पीडित परिवारले तीन बर्षीया बालिकाको बलात्कार पछि हत्या गरिएकोमा विरोध जारी राखेका हुन ।
सो घटनामा दोषी पक्राउ परेपनि अझै स्थानीयको आक्रोश शान्त हुन सकेको छैन ।
बालिका हराएको सुचना दुई घण्टामै गराएपनि खोजीमा तदारुकता नदेखाएको भन्दै घटनामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने, इलाका प्रहरी कार्यालय सिमराका डीएसपीलाई निलम्बन गर्नुपर्ने लगायतका माग राखेर स्थानीयले बाराको सिमरामा प्रदर्शन गरेका कारण उक्त सडक खण्ड बुधबार दिउँसोदेखि अवरुद्ध पारेका छन ।
बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई र प्रहरी उपरिक्षक नरेन्द्र कुँबरले राति अबेरसम्म बार्ता गरेपनि सहमति हुन सकेको छैन ।
अवरुद्ध सडक खुलाउने विषयमा बुधबार पनि पटकपटक छलफल भए पनि आन्दोलनरत पक्षले अघि सारेका माग सम्बोधन गर्न नसक्ने अवस्था आएपछि नतिजा निस्कन नसकेको हो ।
रातभरीनै सडकमै सुतेका परिवार र स्थानीयले अहिलेपनि सडक अबरुद्ध पारिरहेका छन ।
बलात्कारपछि हत्या गरिएकी जीतपुरसिमरा उपमहानगरपालिका-१ की गरिमा चौधरीको हत्यामा संलग्न व्यक्ति पक्राउ परिसके पनि प्रहरीले खोजीमा आवश्यक समन्वय नगर्दा घटना भएको आरोप आन्दोलनरत स्थानीयले लगाएका छन् ।
प्रहरीले बालिका हराएको तीन दिनसम्म खोजी गर्न नसकेको, परिवारले किटानी जाहेरी दिएको व्यक्तिलाई अनुसन्धानको दायरामा नल्याएको आरोप स्थानीयको छ ।।






प्रतिक्रिया राख्नुहोस्