धादिङबेँसी-सुनौलाबजार-गल्छी सडक अवरुद्ध, बस्तीसमेत जोखिममा

धादिङ- धादिङमा बुधबार साँझ परेको वर्षाका कारण सदरमुकाम धादिङबेँसीदेखि संघीय राजधानी काठमाडौँ जोड्ने वैकल्पिक मार्ग धादिङबेँसी–सुनौलाबजार–फोस्रेटार–गल्छी सडक अवरुद्ध भएको छ।
नीलकण्ठ नगरपालिका–७ पिपलटारमा सडक भासिनुका साथै सडक माथिबाट पहिरो खसेपछि यातायात ठप्प भएको हो। वर्षाका कारण सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्नु र सडक भासिन थालेपछि स्थानीयलाई आवतजावतमा समस्या भएको छ। सडक भासिँदा आसपासका दर्जनौँ घरसमेत पहिरोको जोखिममा परेका छन्।
नीलकण्ठ नगरपालिका–७ पिपलछापस्थित दलित बस्तीमा जमिन चिरिन थालेपछि स्थानीय त्रसित भएका छन्।

यस्तै, नीलकण्ठ नगरपालिका–६ को कुसुन्डे क्षेत्रमा पनि जमिन भासिने, चिरा पर्ने र ठूला खाल्डा देखिन थालेपछि बस्ती जोखिममा परेको स्थानीयले बताएका छन्।
सो क्षेत्रमा पटक–पटक जमिन भासिने समस्या देखिँदै आएको भन्दै स्थानीयले भौगर्भिक अध्ययन गरी समस्याको दीर्घकालीन समाधान गर्न सरकारसँग माग गरेका छन्।
सडक अवरुद्ध भएपछि वडा नम्बर ६ र ७ का स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन समस्या भएको छ।
बिरामी पर्दा उपचारका लागि सदरमुकाम पुग्न तथा दैनिक कामकाजका लागि आवतजावत गर्नसमेत कठिनाइ भएको स्थानीयको गुनासो छ।
वैकल्पिक सडकसमेत जीर्ण रहेकाले समस्या थप जटिल बनेको भन्दै स्थानीयले तत्काल सडक मर्मत गरी यातायात सञ्चालन गर्न माग गरेका छन्।।






प्रतिक्रिया राख्नुहोस्