बाराको सिमरा घटनाका सम्वन्धमा सर्वपक्षीय सहमति

बारा– बाराको सिमरा घटनाका सम्वन्धमा सर्वपक्षीय सहमति भएको छ । गत भाद्र २ गते जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. १ निवासी वर्ष ३ की गरिमा चौधरीको मृत्युको विषयमा भएको छलफलपछि राति अबेर सहमति भएको हो ।
मृतकका अभिभावक तथा आफन्त, राजनीतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र जिल्ला सुरक्षा समिति, बारा बीच भएको सहमति अनुसार पीडित परिवारको लागि उचित राहत र रोजगारी सम्बन्धी व्यवस्थापन गर्न स्थानीय तहसमेतको सहभागिता हुने गरी नेपाल सरकार गृह मन्त्रालय समक्ष सिफारिस गरी पहल गरिने उल्लेख छ ।
यस्तै घटनामा संलग्नहरू अनुसन्धानका क्रममा हिरासतमा रहेता पनि अनुसन्धानको क्रममा यस घटनामा संलग्न थप अपराधीहरू देखिए नियमानुसार कडा कारवाही गर्ने सहमति भएको छ । जिल्लाको वर्तमान र भविष्यमा हुनसक्ने सुरक्षा चुनौतीको विश्लेषण र पुनरावलोकन गरी भरपर्दो र विश्वसनीय सुरक्षा जिल्ला सुरक्षा समितिले मिलाउने र इलाका प्रहरी कार्यालय, सिमरामा उक्त समयमा कार्यरत रही लापरवाही देखिन आएका सुरक्षा कर्मीहरूलाई आवश्यक कारवाहीका गर्ने सहमतिमा उल्लेख छ ।
सहमति अनुसार घटनाका बखत डिउटीमा खटिएका र जिम्मेवारीमा रहेका सुरक्षा अधिकारीहरुलाई जिम्मेवारीमुक्त गरी हटाइएको छ । सहमति अनुसार आजैबाट आन्दोलनको सम्पूर्ण कार्यक्रम स्थगित गरिने भएको छ । यही भाद्र २ गते ३ वर्षीय बालिकाको हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।
यसैबीच मृतक बालिकाको परिवारका सदस्यहरुले हिजोको सहमतिबाट आफूहरुको सबै माग सम्बोधन नभएको बताएका छन । बारामै प्रधानमन्त्री वा गृहमन्त्रीसँग थप कुराकानी हुनुपर्ने माग उनीहरुले राखेको हाम्रा बारा संवाददाताले जनाएका छन ।






प्रतिक्रिया राख्नुहोस्