बढीमा परेका १९ जनाको शव फेला,ठूलो संख्यामा नागरिकहरु वेपत्ता

बाढीमा बेपत्ता हुनेमा वृद्धवृद्धा र बालबालिका बढी रहेको आशंका

रसुवा —भोटेकोशी नदीमा आज बिहान आएको भीषण बाढीमा परी वेपत्ता भएकाहरूको खोज तथा उद्धार कार्यलाई सरकारले तीव्र बनाएको छ।

नेपाल प्रहरीले हालसम्म बाढीमा परी १९ जनाको शव फेला परेको जनाएको छ। खोज तथा उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीयवासी खटिएका छन्।

बाढी आएलगत्तै नेपाली सेना र निजी क्षेत्रका हेलिकोप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ। बाढीमा परी घाइते भएका तथा उद्धार गरिएकाहरूलाई काठमाडौँ ल्याई विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बाढीमा परी ३८४ पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार तीमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली छन्। बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरका अनुसार विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएका पर्यटकहरू सम्पर्कविहीन भएका हुन्।

यसैगरी, रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत इन्जिनियरसहित ६० कर्मचारी सम्पर्कविहीन भएका छन्।

आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का सचिव विजयमोहन भट्टराईले आयोजनामा कार्यरत ६० जना कर्मचारी सम्पर्कविहीन रहेको जानकारी दिनुभयो।

रसुवाको टिमुरे र मैलुङ क्षेत्रमा ड्युटीमा खटिएका १३ जना सशस्त्र प्रहरी पनि सम्पर्कविहीन छन्। सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार टिमुरेबाट नौ र मैलुङबाट चार जना सम्पर्कविहीन भएका हुन्। यस्तै, बाढीमा परी २६ जना नेपाल प्रहरी पनि सम्पर्कविहीन भएका छन्।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका प्रहरी युनिटमा कार्यरत प्रहरी सम्पर्कविहीन भएका हुन्। रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी पनि सम्पर्कविहीन छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार तीमध्ये ११ जना स्थायी र तीन जना करारका कर्मचारी हुन्।

बाढीपछि टिमुरे, स्याफ्रुबेँसी र बेत्रावती क्षेत्रमा ठूलो संख्यामा स्थानीयवासीसमेत वेपत्ता भएका छन्। नेपाल प्रहरीका अनुसार नेपाली सेनाले विभिन्न उडानमार्फत ८५ जना र निजी क्षेत्रका विभिन्न हेलिकोप्टर कम्पनीले २९ जना गरी हालसम्म ११४ जनाको हवाई उद्धार गरेका छन्।

नेपाली सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट पाँच जना, बेत्रावतीबाट चार जना र त्रिशूली–काठमाडौँबाट तीन जनाको उद्धार गरेको जनाएको छ।

बाढीले रसुवाका टिमुरे, स्याफ्रुबेँसी, हाकुबेँसी, मैलुङ, शान्तिनगर र बेत्रावती बजार क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। कतिपय बस्ती पूर्णरूपमा ध्वस्तजस्तै भएका छन्।

बाढी प्रभावित उत्तरगया गाउँपालिका–५ बेत्रावतीका ४५ वर्षीय दिलकृष्ण श्रेष्ठका अनुसार बाढीबाट कल्पना गर्न नसकिने मानवीय तथा भौतिक क्षति भएको छ।

उहाँका अनुसार बाढी आउनुअघि सामाजिक सञ्जालमार्फत सूचना पाएपछि केही युवा सुरक्षित स्थानतर्फ जान सफल भए पनि वृद्धवृद्धा, अशक्त तथा बालबालिका बढी प्रभावित भएका छन्।

“म त चाँडै भागेर ज्यान बचाएँ। मेरो सासु–ससुरा र बुबा बाढीमा वेपत्ता हुनुहुन्छ,” श्रेष्ठले भन्नुभयो।

“सबै आफ्ना मान्छे बगाएर लगिसक्यो। धनजन सबै क्षति भइसक्यो। सपना जस्तो भएको छ। साथी र आफन्त सम्झेर बस्यो, फिल्म जस्तो लाग्छ। उहाँले भन्नुभयो।

आफ्नो परिवारका सदस्य वेपत्ता भए पनि श्रेष्ठले बेत्रावतीका पाँच जना स्थानीय बालबालिकालाई सुरक्षित स्थानमा राखेर हेरचाह गरिरहेको बताउनुभयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.