भोटेकोशीमा थप बाढीको जोखिम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं – रसुवास्थित भोटेकोशी नदीमा थप बाढीको जोखिम देखिएको भन्दै सरकारले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
बाढी पूर्वानुमान महाशाखाले बिहीबार सार्वजनिक गरेको विशेष सूचनामा चीनतर्फबाट प्राप्त पछिल्लो जानकारीअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणबाट बुधबार बाढी आएको स्थानमा नदी थुनिएर ताल बनेको पाइएको जनाएको छ।
उक्त तालमा पानीको मात्रा बढ्दै गएको र ताल फुट्ने जोखिमसमेत देखिएको सूचनामा उल्लेख छ। यसका कारण भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको हो।
महाशाखाले अर्को सूचना जारी नभएसम्म भोटेकोशी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धार कार्यमा खटिएका उद्धारकर्मी र सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
त्यस्तै, नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरिएको छ।
यसअघि सार्वजनिक गरिएको प्रारम्भिक प्राविधिक प्रतिवेदनले पनि तिब्बततर्फ नदी थुनिएर बनेको तालका कारण भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीमा ठूलो बाढी आएको र माथिल्लो भोटेकोशी क्षेत्रमा जोखिम कायमै रहेको जनाएको थियो।
महाशाखाका अनुसार बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदी प्रणालीसम्म देखिएकाले तटीय क्षेत्रका बासिन्दाले विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ।






प्रतिक्रिया राख्नुहोस्