खोज तथा उद्धार कार्य तिव्र: ४ हजार ४५० जनाभन्दा बढीको उद्धार
खोजी तथा उद्धारका लागि भारत चीनको विशेष टोली परिचलान

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गरेको जनाएको छ। सरकारले विशेषगरी बेपत्ता रहेका नेपाली तथा विदेशी नागरिकको खोजीलाई राष्ट्रिय प्राथमिकतामा राखेको बताएको छ। खोजी तथा उद्धारका लागि छिमेकी मित्र राष्ट्र भारत र चीनबाट विशेष टोली मैदानमा खटिएको छ ।
सरकारका अनुसार हालसम्म बाढी प्रभावित क्षेत्रबाट ६२६ जनाको शव फेला परेको छ भने करिब २ हजार ४ सय जना अझै सम्पर्कविहीन छन्। त्यस्तै, विभिन्न क्षेत्रबाट ४ हजार ४५० जनाभन्दा बढीको उद्धार गरिएको छ, जसमा १८७ भन्दा बढी विदेशी नागरिक रहेका छन्।
खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक, बेपत्ता तथा क्षतिको विवरणमा परिवर्तन हुन सक्ने सरकारले जनाएको छ। सरकारले आधिकारिक रूपमा प्रमाणीकरण नभएका विवरण प्रकाशन तथा प्रसारण नगर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई आग्रह गरेको छ।
बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश तथा स्थानीय सरकार, स्वास्थ्यकर्मी र अन्य आपत्कालीन उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार कार्य गरिरहेका छन्।
सरकारले परिवार, स्थानीय प्रशासन, अस्पताल तथा सम्बन्धित निकायसँग समन्वय गरी बेपत्ता व्यक्तिको पहिचान तथा विवरण प्रमाणीकरण गरिरहेको जनाएको छ। प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित खानेपानी, अस्थायी आश्रय तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउने काम भइरहेको छ।
बाढीमा विदेशी नागरिकसमेत बेपत्ता भएकाले परराष्ट्र मन्त्रालयमा विशेष आपत्कालीन नियन्त्रण कक्ष (Emergency Control Room) स्थापना गरिएको सरकारले जनाएको छ। विदेशस्थित नेपाली नियोगहरूले समेत प्रमाणित विवरण आदानप्रदान तथा परिवारसँग सम्पर्कमा सहजीकरण गरिरहेका छन्।
विदेशी नागरिकको खोजी, पहिचान, आवश्यक सहयोग तथा शव स्वदेश फिर्ता पठाउने प्रक्रियामा सम्बन्धित देशका निकायसँग समन्वय भइरहेको सरकारले जनाएको छ।
खोजीमा भारत र चीनका विशेष उद्धार टोली परिचालन
विद्युत परियोजनाका सुरुङभित्र फसेका व्यक्तिको उद्धारका लागि भारत चीनबाटबाट आएका विज्ञ टोली परिचालन भएका छन् ।
जीवित व्यक्तिको पहिचान गर्न सक्ने प्रविधि, छिटो फरेन्सिक तथा डीएनए परीक्षण र शव व्यवस्थापनका लागि छिमेकी मुलुकसँग विशेष सहयोग मागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भारतबाट सुरुङ उद्धारसम्बन्धी ११ सदस्यीय र विशेष प्राविधिक टोली चीन बाट ६ सदस्यी प्रविधिक टोली उद्धारमा परिचालन भएको जनाइएको छ ।
भारतबाट ५७ टनभन्दा बढी राहत सामग्री
नेपालले विपद्का बेला सहयोग गर्ने मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ। भारतबाट हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको सरकारले जनाएको छ। चीन, जापान, अस्ट्रेलिया लगायतका मुलुकबाट पनि आवश्यक सामग्री प्राप्त भइरहेको परराष्ट्रमन्त्रालयले जनाएको छ ।
सरकारले तत्कालीन राहत तथा उद्धारसँगै पुनःस्थापना र पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने जनाएको छ।
बाढीका कारण सडक, पुल, घर, महत्वपूर्ण पूर्वाधार तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेकाले आवश्यकताको विस्तृत मूल्याङ्कन भइरहेको र त्यससम्बन्धी प्रतिवेदन छिट्टै तयार हुने सरकारको भनाइ छ।
‘नेपालले विदेशी सहयोग अस्वीकार गरेको होइन’
नेपालले अन्तर्राष्ट्रिय सहयोग अस्वीकार गरेको भन्ने केही राष्ट्रिय तथा विदेशी सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति सरकारले आपत्ति जनाएको छ।
सरकारले विपद्को क्षति निकै ठूलो रहेकाले उद्धार र राहतका साथै पुनर्निर्माणका लागि समेत अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ। यद्यपि तत्कालका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट प्राप्त हुने भौतिक राहत सामग्री भने व्यवस्थापन गर्न नसकिने भएकाले प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न आग्रह गरिएको छ।
नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा नेपालभित्र तथा विदेशमा रहेका नेपाली र विदेशी नागरिकले समेत QR कोड वा अनलाइन माध्यमबाट सहयोग गर्न सक्ने व्यवस्था गरिएको जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्