सुरुङभित्र खोज तथा उद्धार तीव्र, ९ हजारभन्दा बढी सैनिक परिचालन

काठमाडौं — रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको छ।
नेपाली सेनाका अनुसार बिहीबार (भदौ १८) बिहान ११ बजेसम्म हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट ६ जनाको उद्धार गरिएको छ।
सेनाले रसुवा तथा नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको खोजी तथा उद्धारलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
लाङटाङ हाइड्रोपावरमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र करिब १५० मिटरसम्म प्रवेश गरी दुई स्थानमा साना होल बनाएर खोजी गरिरहेको छ। त्यस्तै, चिलिमे हाइड्रोपावरमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको सेनाले जनाएको छ।
त्रिशूली–३ ए आयोजनामा ९३ जनाको संयुक्त उद्धार टोलीले पाँच वटा एक्स्काभेटर प्रयोग गरी सुरुङको आउटलेटमा भरिएको लेदो तथा माटो हटाइरहेको छ। राति करिब २ बजे आउटलेटको होल ठूलो बनाउन क्राउन ब्लास्टिङ गरी सफा गर्ने कामसमेत गरिएको सेनाले जनाएको छ।
त्यसैगरी, त्रिशूली–३ बी आयोजनामा नेपाली सेनाका ८९ जना, तीन जना गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त टोलीले खोज तथा उद्धार गरिरहेको छ। आयोजनाको कार्यालय र कर्मचारी निवास रहेको क्षेत्र पहिचान गरी त्यहाँसम्म पुग्ने बाटो बनाउन एक्स्काभेटर र बोबक्याट प्रयोग भइरहेको छ।
सेनाले प्रभावित क्षेत्रका जंगल, डाँडा, खोला तथा बस्तीमा समेत पैदल गस्तीमार्फत खोज तथा उद्धार गरिरहेको जनाएको छ। त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न स्थानमा खोज तथा उद्धार कार्य जारी छ।
स्याफ्रुवेशी क्षेत्रमा पनि नेपाली सेना र अन्य सुरक्षा निकायको संयुक्त टोली परिचालन गरिएको छ। नुवाकोटको पिपलटार र देवघाटमा रहेका होल्डिङ सेन्टरमा चिकित्सक अधिकृतहरूले सम्भावित संक्रमण फैलिन नदिन सचेतनामूलक कक्षा सञ्चालन गरिरहेका छन्।
नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९ हजार ३ सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने र आपत्कालीन उपचारलगायतका काम गरिरहेका छन्।
यसैबीच, प्रधान सेनापति महारथी अशोक राज सिग्देलले त्रिशूली तथा सुरुङ क्षेत्रमा भइरहेको खोज तथा उद्धार कार्यको स्थलगत अनुगमन गरेका छन्। उनले सम्बन्धित सबै निकायबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै उच्च मनोबलका साथ खोज तथा उद्धार कार्यलाई निरन्तरता दिन नेपाली सेनालाई निर्देशन दिएका छन्।






प्रतिक्रिया राख्नुहोस्