राजमार्ग अवरुद्ध हुँदा धादिङका तरकारी किसान मारमा

धादिङ – भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली नदीले पृथ्वी राजमार्ग कटान गर्न थालेपछि राजमार्ग अवरुद्ध हुँदा धादिङका तरकारी उत्पादक किसानसमेत समस्यामा परेका छन्।

सडकका विभिन्न स्थानमा कटान र भासिने क्रम बढेर सवारी आवागमन ठप्प भएपछि उत्पादित तरकारी बजारसम्म पुर्‍याउन समस्या भएको हो।

तरकारी उत्पादक किसानले उत्पादन गरेको अधिकांश तरकारी बजारसम्म पुर्‍याउन नसक्दा खेतबारीमै छाड्नुपर्ने अवस्था आएको छ।

टिपेर बिक्रीका लागि सहकारीमा ल्याएको तरकारीले समेत उचित मूल्य नपाउँदा किसान थप समस्यामा परेका छन्। तरकारी त्यसै खेर जानुभन्दा सस्तो मूल्यमा भए पनि बिक्री गर्न बाध्य भएको किसानको भनाइ छ।

चरौंदी बजारस्थित सहकारीमा अहिले किसानले सबैभन्दा महँगो तरकारीको मूल्य प्रतिकिलो १० देखि १५ रुपैयाँसम्म पाउने गरेका छन्। करेला, बोडी, लौका, भिन्डी, सिमी, चिचिन्डा र भेँडेजस्ता हरियो तरकारीको मूल्यसमेत किसानले प्रतिकिलो करिब १० रुपैयाँ मात्रै पाउने गरेका छन्। कतिपय तरकारीको मूल्य बिक्री केन्द्रमा नपुग्दासम्म थाहा नहुने किसानको गुनासो छ।

राजमार्ग क्षतिग्रस्त भएपछि व्यापारीले तरकारी ढुवानीमा लाग्ने भाडा झन्डै तीन गुणासम्म बढेको बताएका छन्। ढुवानी खर्च महँगो भएपछि व्यापारीले समेत किसानबाट तरकारी खरिद गर्न कम गरेका छन्।

यता, सडक अवरुद्ध हुँदा राजधानीका बजारमा हरियो तरकारीको अभाव हुन थालेको छ। सीमित मात्रामा बजारमा पुगेको तरकारीको मूल्य भने उपभोक्ताले निकै महँगो तिर्नुपर्ने अवस्था छ।

उत्पादित तरकारी बिक्री नहुँदा किसान र उपभोक्ता दुवै प्रभावित भएकाले तरकारी उत्पादक किसानले सरकारले जतिसक्दो छिटो पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.