पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका छन्- संचारमन्त्री

काठमाडौँ-सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रको सुरक्षा, व्यावसायिकता र पत्रकारको भविष्यका विषयमा गम्भीर प्रश्न उठिरहेका बताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठानद्वारा आज यहाँ आयोजित ‘हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण समारोह २०८३’ लाई सम्बोधन गर्नुहुँदै संचारमन्त्री तिमिल्सिनाले पत्रकारिता क्षेत्रको व्यावसायिकता, विश्वसनीयता र संस्थागत गरिमा जोगाउन समग्र पत्रकारिता क्षेत्रले आफ्ना कमजोरीको निर्मम समीक्षा गरी सुधारको बाटोमा अघि बढ्नुपर्ने बताउनु भयो ।

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता यी विषयको समाधानका लागि आवश्यक काम अघि बढाइरहेको उहाँको भनाइ छ ।

“पत्रकारिता भनेको आफैँमा एउटा संस्था हो । यो संस्थाको गरिमा हामी सबैले सामूहिकरूपमा जोगाउने र यसको स्तर उन्नति गर्ने हो । हाम्रो पत्रकारिताको शाख के कुराले कमजोर बनाइरहेको छ भन्ने कुरा सोच्ने जिम्मेवारी हरेक पत्रकारको हो”, उहाँले भन्नुभयो ।

सञ्चारमन्त्री डा तिमिल्सिनाले पत्रकारिताको मूल मर्म र व्यावसायिक मूल्यलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिँदै कस्तो पत्रकारिता र कस्ता सञ्चार संस्था निर्माण गर्ने भन्ने मूल प्रश्नको जवाफ खोज्नुपर्ने बताउनुभयो ।

सञ्चारमन्त्री डा. तिमिल्सिनाले सार्वजनिक सेवा प्रसारण संस्थालगायत सार्वजनिक सञ्चार संस्थाको अवस्थाबारे पनि गम्भीर समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले ती संस्थाको लामो इतिहास र नेपाली संगीत, सञ्चार तथा पत्रकारिताको विकासमा रहेको योगदानको स्मरण गर्नुहुँदै पछिल्लो समय ती संस्थाहरू कमजोर अवस्थामा पुग्नुको कारण खोजिनुपर्ने बताउनुभयो ।

रेडियो नेपाल र नेपाल टेलिभिजनका भौतिक पूर्वाधार निजी संस्थाभन्दा कमजोर नरहेको उल्लेख गर्दै उहाँले उपलब्ध पूर्वाधार र स्रोत हुँदाहुँदै पनि संस्था बलियो हुन नसक्नुका कारण संस्थाभित्रै खोजिनुपर्ने उहाँको भनँइ थियो ।  “यी संस्थालाई बलियो हुनबाट रोक्ने के शक्ति थियो ? त्यो प्रश्नको जवाफ हामीले भित्रैदेखि खोजेनौँ भने कुनै पनि समस्याको समाधान हुँदैन”, उहाँले भन्नुभयो ।

कार्यक्रममा सार्वजनिक सेवा प्रसारण नेपालका कार्यवाहक अध्यक्ष उर्वशी बस्न्यातले सार्वजनिक सेवा प्रसारण आवश्यक्ता र औचित्यतताका आधारमा कार्ययोजना बनाएर अघि बढिरहेको बताउनु भयो । संस्थालाई कसरी बलियो बनाएर लैजाने भन्ने विषयलाई केन्द्रमा राखेर संस्थगत सुधारकार कार्यक्रमहरु अघि बढाइएको कार्यवाहक अध्यक्ष बस्न्यातको भनाइ थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महसचिव राम प्रसाद दाहाल र नेपाल टेलिभिजन प्रतिष्ठानका अध्यक्ष सुरेन्द्र पौडेलले सार्वजनिक सेवा प्रसारण संस्थामा कार्यरत कर्मचारीहरु र पत्रकारको मनोवल उच्च राख्दै सार्वजनिक सेवा प्रसारणको मर्म अनुसार स्पष्ट मार्गचित्र र योजना बनाएर अघि बढन ढिला गर्नु नहुने जोड दिनु भयो ।

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार पाँच पत्रकार पुरस्कृत

हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कारबाट यसवर्ष पाँच जना पत्रकार पुस्कृत हुनुभएको छ । २०८२ साल भदौमा भएको जेनजी आन्दोलनका क्रममा जोखिमपूर्ण रिपोर्टिङ गरेका हिमालय टेलिभिजनका संवाददाता रामचन्द्र अर्याल, क्यामेरा पर्सन दिवाकर पोखरेल तथा कान्तिपुर टेलिभिजनका क्यामेरापर्सन श्याम श्रेष्ठलाई पुरस्कृत गरिएको छ । त्यस्तै, जलवायु परिवर्तन तथा वातावरणीय जोखिमसम्बन्धी समाचार सामग्रीका लागि नेपाल टेलिभिजनका धादिङ संवाददाता शिव सिलवाल र भक्तपुर संवाददाता अञ्जिर सिंह विकलाई पनि सम्मान गरिएको छ ।

हेम भण्डारी र सुनिल सिंहको स्मृतिमा नेपाल पत्रकार महासङ्घ नेपाल टेलिभिजन प्रतिष्ठान शाखाले विसं २०६४ देखि हरेक वर्ष असोज ७ गते हेम–सुनिल साहसिक टेलिभिजन पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । भौतिक तथा अन्य जोखिम मोलेर साहसिक पत्रकारिता गर्ने टेलिभिजन पत्रकारलाई यो पुरस्कार प्रदान गरिन्छ । विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा पत्रकार हेम भण्डारी र सुनिल सिंहको निधन भएको थियो । उहाँहरू वातावरणविद् तथा अन्य विशिष्ट व्यक्तित्वसँगै समाचार सङ्कलनका लागि त्यस क्षेत्रमा पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.