विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति चयन बुधबार

काठमाडौँ- हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी-त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापति आगामी बुधबार चयन गरिने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसदीय विशेष समितिको सभापति चयनका लागि बुधबार निर्वाचन हुने गरी तालिका तोक्नुभएको हो । निर्वाचन बुधबार दिउँसो २ बजे हुनेछ ।

गत भदौ १० गते रसुवाको भोटेकोशी नदी भएर आएको विनाशकारी बाढी र त्यसले रसुवा, नुवाकोट, धादिङलगायत जिल्ला र आसपासका क्षेत्रमा गरेको मानवीय तथा भौतिक क्षतिको पृष्ठभूमिमा प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । संसद्ले समितिको कार्यावधि तीन महिना तय गरेको छ र यसको म्याद पछि थप गर्न सकिने प्रावधान पनि राखिएको छ ।

भोटेकोशी-त्रिशूली विपद्को कारण, यसको प्रभाव तथा क्षतिको अध्ययन तथा अनुगमन, विपद्को उत्पत्ति, घटनाक्रम, तत्काल कारण र जोखिम तीव्र बनाउने कारकको वैज्ञानिक प्रमाणमा आधारित अध्ययन यसको कार्यक्षेत्र रहेको छ । साथै समितिलाई हिमालमा जलवायु परिवर्तनको प्रभावको अध्ययन, जलवायु परिवर्तनसँगको सम्भावित सम्बन्ध, सीमापार जलाधारको प्रभाव तथा तल्लो तटीय क्षेत्रमा परेको असरको समीक्षा गर्ने पनि कार्यादेश दिइएको छ ।

समितिले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका सम्बन्धमा पनि आवश्यक अनुगमन तथा कार्य गर्नेछ । समितिले विपद् जोखिम न्यूनीकरण तथा पूर्वचेतावनी प्रणालीका सम्बन्धमा अधययन गरेर आवश्यक सुझावहरु प्रस्तुत गर्नेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.