यो सरकार ढल्दैन,नढलेपछि सरकार ढल्छ भन्ने ढल्छन् : रवि लामिछाने
नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोरी पनि इतिहास

काठमाडौं– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकार नढल्ने दाबी गर्नु भएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले सरकार कमजोर भएको चर्चा हुने गरे पनि सरकार परिवर्तनको निर्णय राजनीतिक दलको दबाब वा चर्चाबाट नभई जनताको मतबाट हुने बताउनुभयो।
‘सरकार कमजोर भयो भन्ने पनि सुनिन्छ। यो सरकार ढल्दैन, नढलेपछि अरू ढल्छन्,’ उहाँले भन्नुभयो।
लामिछानेले लोकतन्त्रको ठेक्का कुनै एउटा राजनीतिक दलले लिन नहुने बताउनुभयो। लोकतन्त्र खतरामा परे जनताले त्यसको रक्षा गर्ने भन्दै उहाँले आफूहरूलाई हटाउने वा विस्थापित गर्ने अधिकार पनि निर्वाचनमार्फत जनतामै रहेको बताउनुभयो।
‘लोकतन्त्रको ठेक्का नलिनुस्, लोकतन्त्र खतरामा परे जनताले जोगाउँछन्,’ उहाँले भन्नुभयो, ‘हामीलाई हटाउन, विस्थापन गर्न चुनावले मात्रै सक्छ।’
उहाँले निर्वाचनबाट जनताले दिएको मतलाई भ्रमित पारेर जनताको निर्णयको अपमान नगर्न आग्रह गर्नुभयो। आफूहरूले काम गर्न नसके आगामी निर्वाचनमा जनताले आफूहरूलाई डाँडो कटाउन सक्ने भन्दै त्यसलाई स्वीकार गर्ने बताउनुभयो।
‘हामीले काम गर्न सकेनौँ भने हामीलाई डाँडो कटाउनुस् भनेकै छौँ,’ लामिछानेले भन्नुभयो।
लामिछानेले नेपाली कांग्रेसको सबैभन्दा ठूलो शक्ति उसको लामो राजनीतिक इतिहास भएको बताउनुभयो। कांग्रेसले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको आफूले सधैँ सम्मान गर्ने भन्दै उहाँले कांग्रेसको इतिहासबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताउनुभयो।
‘नेपाली कांग्रेसको शक्ति इतिहास हो। कमजोर पनि इतिहास हो,’ उहाँले भन्नुभयो, ‘कांग्रेसको इतिहासबाट पाठ सिक्नैपर्छ। यसमा हामी पाठ सिकेर अगाडि बढ्नेछौँ।’
मुलुकको सवालमा राजनीतिक दल र झन्डाको भिन्नता गौण हुने उहाँको भनाइ थियो। राष्ट्रिय हितका विषयमा सबै राजनीतिक शक्ति एक ठाउँमा उभिनुपर्ने उहाँले बताउनुभयो।
‘पार्टीको कुरा होइन, मुलुक र देशको कुरा आउँछ त्यतिबेला पार्टी र झन्डा फरक हुँदैन,’ लामिछानेले भन्नुभयो।
लामिछानेले आफू अहिलेको मञ्चमा सत्तापक्षको भए पनि एक्लो प्रतिपक्षीजस्तो देखिएको भन्दै व्यंग्य गर्नुभयो।
‘आज यो मञ्चको एक्लो प्रतिपक्षी भएछु। सत्तापक्ष तर यो मञ्चको एक्लो प्रतिपक्ष। प्रायः एक्लो हुने बानी पनि छ मलाई,’ उहाँले भन्नुभयो।
उहाँले बलिदान र संघर्षबाट प्राप्त लोकतन्त्रका मूल्य र मान्यतालाई कमजोर हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो। लोकतन्त्रलाई तलमाथि पार्ने कुनै प्रयास स्वीकार्य नहुने भन्दै उहाँले राजनीतिक परिवर्तनको रक्षा सबैको जिम्मेवारी भएको बताउनुभयो।
कांग्रेसको १५औँ महाधिवेशनमा गगनकुमार थापा सभापतिको नेतृत्वमा आएको नयाँ चरणलाई उल्लेख गर्दै लामिछानेले कांग्रेसले आफ्नो इतिहासबाट सिकेर अघि बढ्नुपर्ने बताउनुभयो। लामो राजनीतिक इतिहास कांग्रेसको शक्ति भए पनि त्यसलाई नयाँ पुस्ताको चाहना, बदलिँदो राजनीतिक परिस्थिति र जनताको अपेक्षासँग जोडेर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।
फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ : लामिछाने
रवि लामिछानेले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाप्रति इंकित गर्दै नफकिने र नफर्किनेहरुलाई अब छोडिदिँदा राम्रो हुने सुझाव दिनुभएको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसको नयाँ नेतृत्वलाई पूर्वसभापति देउवाका विषयमा यस्तो सुझाव दिनुभएको हो।
फकाउनुभन्दा छोडिदिँदा राम्रो हुन्छ, म सुझाव दिन चाहन्छु,’ लामिछानेले भन्नुभयो।
उहाँले कांग्रेसको लामो राजनीतिक इतिहासको सम्मान गर्दै पार्टीले अब नयाँ पुस्ता र बदलिँदो राजनीतिक परिस्थितिअनुसार अघि बढ्नुपर्ने बताउनुभयो। कांग्रेसको इतिहास उसको ठूलो शक्ति भएको भन्दै उहाँले त्यसबाट पाठ सिकेर नयाँ यात्रामा अघि बढ्नुपर्ने धारणा राख्नुभयो।






प्रतिक्रिया राख्नुहोस्