विश्व लगानीकर्ता सप्ताहको अवसरमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना

काठमाडौं । विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा  वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम आयोजना गरिएको छ ।

एशियन सेक्युरिटिज प्रा.लि.को आयोजनामा ललितपुरस्थित मेघा कलेजमा आयोजित कार्यक्रममा सेयर बजार, लगानी विविधीकरण, जोखिम मूल्याङ्कन तथा जोखिम व्यवस्थापनलगायत विषयमा सहभागी विद्यार्थीलाई जानकारी दिइएको थियो।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, एशियन सेक्युरिटिज प्रा.लि. तथा मेघा कलेजका प्रतिनिधिहरूले विद्यार्थीलाई वित्तीय साक्षरताको महत्त्व, सेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने विषय र सम्भावित जोखिम व्यवस्थापनका उपायबारे जानकारी दिनुभएको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले सेयर बजारसम्बन्धी विभिन्न जानकारी प्राप्त भएको बताउँदै यस्ता कार्यक्रम निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले सेयर बजार तथा वित्तीय साक्षरतालाई विद्यालय तहदेखि नै पाठ्यक्रममा समावेश गर्न सके यसको प्रभावकारिता अझ बढ्ने धारणा राखेका थिए।

एशियन सेक्युरिटिजका सञ्चालक रुद्रप्रसाद शर्माले समाजका विभिन्न क्षेत्रमा वित्तीय साक्षरता अभिवृद्धि गर्न यस्ता कार्यक्रम निरन्तर आयोजना गरिने बताउनुभयो। उहाँले सेयर बजारमा लगानी गर्नुअघि बजारको प्रकृति, लगानीका अवसर तथा सम्भावित जोखिमबारे जानकारी लिन सके जोखिम व्यवस्थापन गर्न सहज हुने धारणा व्यक्त गर्नुभयो।

विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजित यस्ता कार्यक्रमले विद्यार्थीमा वित्तीय ज्ञान अभिवृद्धि गर्नुका साथै सचेत र जिम्मेवार लगानीसम्बन्धी समझदारी विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.