दुई दिनमै बेलिब्रिज जडान

धादिङ- नेपाली सेनाले धादिङ र गोरखा जोड्ने आरुघाटस्थित बूढीगण्डकी नदीमा ‘बेलिब्रिज’ जडान कार्य दुई दिनमा सम्पन्न गरी सडक आयोजनालाई हस्तान्तरण गरेको छ ।

सेनाले जडान सम्पन्न गरेपछि गोरखा सडक आयोजनालाई बेलिब्रिज हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

गत असोज २५ गते बूढीगण्डकी नदीमा गएको बाढीले सो स्थानमा रहेको पक्की पुलको गोरखातर्फको खण्ड बगाएपछि सेनाले असोज ३१ गतेदेखि ‘बेलिब्रिज’ जडान थालेको थियो ।

करिब २७ दशमलव ४३ मिटर लम्बाइ र ४ दशमलव २ मिटर चौडाइको बेलिब्रिज जडान भएसँगै धादिङ र गोरखा आसपासका क्षेत्रका नागरिकलाई आवतजावत गर्न सहज भएको छ ।

पुल सञ्चालनमा आएसँगै बाढी प्रभावित क्षेत्रमा आवश्यक राहत तथा अत्यावश्यक सामग्रीको ढुवानीमा सहजता हुने सेनाको विश्वास छ ।

नेपाली सेनाको सहयोगमा सडक विभागले पुल निर्माण सम्पन्न गरेसँगै मंगलबारदेखि सवारीसाधन सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

प्राविधिक टोलीसहित नेपाली सेनाका ६२ जना जनशक्तिले पुल जडान गरेका हुन्।

बूढीगण्डकी नदीमा आएको बाढीले मानवीय क्षति नगरे पनि धादिङ र गोरखामा ठूलो भौतिक क्षति पुर्‍याएको छ। पुल बगाएपछि स्थानीयले आवतजावतमा निकै कठिनाइ भोग्दै आएका थिए। बाढीले क्षतिग्रस्त सडकहरूको मर्मत तथा पुनर्निर्माणको कामसमेत भइरहेको छ।

बूढीगण्डकीमाथिको पुल सञ्चालनमा आएपछि सडक मर्मत तथा पुनर्निर्माणका लागि आवश्यक सामग्री ढुवानी गर्न पनि सहज हुने अपेक्षा गरिएको छ।

पुल नहुँदा उत्तरी गोरखाका तीनवटा स्थानीय तहमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्नसमेत समस्या हुँदै आएको छ।

संघीय राजधानी काठमाडौंबाट धादिङ हुँदै उत्तरी गोरखाका आरुघाट, धार्चे र चुमनुब्री गाउँपालिकासम्म पुग्ने छोटो मार्गका रूपमा धादिङबेँसी-सल्यानटार-आरुघाट सडकलाई लिइन्छ ।

यही मार्गको बूढीगण्डकी नदीमाथिको पुल बगाएपछि स्थानीय तथा यात्रुहरू प्रभावित भएका थिए।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.