नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन समिति गठन

काठमाडौँ– विश्व टेलिभिजन दिवसका अवसरमा काठमाडौँका विभिन्न सञ्चारमाध्यममा  कार्यरत भिडियो पत्रकारको भेलाले नेपाल भिडियो जर्नालिस्ट एसोसिएसन तदर्थ समिति गठन गरेको छ ।
काठमाडौँमा आज भएको भेलाले नेपाल टेलिभिजनका भिडियो पत्रकार शिव पङ्गेनीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।
एसोसिएसनको सदस्यमा कान्तिपुर टेलिभिजनका  मुरारी घिमिरे, ग्लोबल टेलिभिजनका राजु थापा, न्युज एजेन्सी नेपालका देवानन्द शिल्पकार तथा भिडियो पत्रकारहरु निरनराज वाना, विनोद थापा, सुरेन्द्र श्रेष्ठ, कृष्ण श्रेष्ठ, कुमार मानन्धर, विष्णु पन्थी र कृति पन्त रहनुभएको छ ।
तदर्थ समितिका संयोजक पङ्गेनीले नेपालभर व्यावसायिक रुपमा काम गर्ने भिडियो पत्रकारलाई सङ्गठित बनाई उनीहरुको पेसागत हकहित, अधिकार र व्यावसायिक सुरक्षाका लागि संस्था गठन गरिएको बताउनुभयो ।
त्यस अवसरमा राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदिपराज वन्तले अहिलेको युग मल्टिमिडियाको भएकाले फोटो तथा भिडियो पत्रकारिताको क्षेत्रमा काम गर्ने सबै एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “भिडियो पत्रकारितामार्फत विश्वभरका सत्य, तथ्य र निष्पक्ष सूचना सम्प्रेषण गर्दै समाजलाई सुसूचित गराउँदै अघि बढ्न अनुरोध गर्दछु ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.