सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाह विश्वासको मत लिनुहुँदै

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही चैत २२ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री शाहले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव दर्ता भएको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिव देवहादुर बोगटीले भन्नुभयो, “मुख्यमन्त्रीले यही चैत २२ गते बिहीबार अपराह्न ३ बजे बस्ने बैठकमा विश्वासको मत लिनुहुने भएको छ, त्यसअघि भोलि चैत २१ गते कार्यव्यवस्था परामर्श समितिको बैठक डाकिएको छ ।”

केन्द्रमा फेरिएको समीकरणसँगै प्रदेश सरकारमा सहभागी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत फागुन २३ मा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थियो । संविधानअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिइसक्नुपर्छ ।

सुदूरपश्चिम प्रदेशसभामा रहेका नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सदस्यको समर्थन जुटाएर विश्वासको मत पु¥याउने रणनीतिमा मुख्यमन्त्री रहनुभएको छ । बहुमतका लागि २७ सदस्यको समर्थन आवश्यक हुन्छ ।

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनमा चर्किएको विवादले मुख्यमन्त्रीलाई विश्वासको मत पाउन सकस छ । सो पार्टीको सहयोगबिना नयाँ गठबन्धनका पक्षमा पनि बहुमत जुट्दैन ।

पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी पक्षधरले नेपाली कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता आउन प्रदेशसभा, संसदीय दलका नेतालाई यसअघि निर्देशन दिइसकेको थियो । सो पार्टीका संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री घनश्याम चौधरी भने ससंदीय दलको निर्णयअनुसार मुख्यमन्त्री शाह नेतृत्वको अहिलेको सरकारलाई नै आफूहरुको समर्थन रहेको बताउँदै आउनुभएको छ ।

सो पार्टीले केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । माओवादी—एमालेसहितको केन्द्रको नयाँ समीकरणअनुसार प्रदेश तहमा पनि नागरिक उन्मुक्ति पार्टी सम्मिलित भएमा नयाँ सरकार गठनमा सजिलै बहुमत पुग्छ ।

प्रदेशसभाको यस्तो गणितमा प्रदेश सरकार गठनका लागि नागरिक उन्मुक्ति निर्णायक देखिएको छ ।

पार्टीका संस्थापक संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिताबीच सङ्घ र प्रदेश तहका सरकारलाई समर्थन गर्ने÷नगर्ने विषयमा उत्पन्न मतभेदले किचलो बढ्दै गएको छ । विवाद चर्किंदै जाँदा सोमबार मात्रै अध्यक्षद्वारा हस्ताक्षरित पार्टीका पत्रमा पार्टीका गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र बागमती प्रदेश अध्यक्ष दीपकबहादु योञ्जन तामाङलाई पदमुक्त गरिएको उल्लेख छ । पत्रमा पार्टीका संस्थापक केन्द्रीय सदस्यको बैठक चलिरहेको अवस्थमा रामलाल डगौराथारू र रमेश विश्वकर्मामाथि अभद्र व्यवहार गरी कुटपिट गरिएको उल्लेख गरिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा ५३ सदस्यीय छ । एक पद रिक्त छ । रिक्त बझाङको प्रदेशसभा सदस्यका पदका लागि आगामी वैशाखमा निर्वाचन हुँदैछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.