मध्यपूर्वबाट नेपालमा लगानी अभिवृद्धिको अपेक्षा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले भोलिदेखि नेपालको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । झण्डै पाँच लाख नेपालीको श्रम गन्तव्य मुलुक कतारका अमिर दुईदिने राजकीय भ्रमणमा मंगलबार नेपाल आउन लाग्नु भएको हो।
राष्ट्र प्रमुखसमेत रहनुभएका कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको यो भ्रमण मध्यपूर्वबाट नेपालमा हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
कतारकाबाट पहिलोपल्ट हुन लागेको यो भ्रमणले नेपालको अन्तर्राष्ट्रिय मर्यादा र महत्वलाई थप उजागर गर्ने विश्वास गरिएको छ । नेपालमा हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा हुने यो भ्रमणले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत सकारात्मक सन्देश प्रवाह हुने अपेक्षा गरिएको छ ।
मध्यपूर्वको आकर्षणको केन्द्र रहेको खाडी मुलुक कतारसँग नेपालको सम्बन्ध विशेष छ । कतारमा नेपालीको उपस्थितिले पनि यो सम्बन्ध दर्शाउँछ । त्यसमाथि पहिलोपटक हुन लागेको कतारी अमिरको यो भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढीकरण र सहयोगको वातावरण अभिबृद्धिमा थप टेवा पुग्ने मात्र होइन, नेपाल समग्र मध्यपूर्वको आकर्षणको केन्द्र समेत बन्ने अधिकारीहरुको विश्लेषण छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख थानीले मंगलबार र बुधबार नेपालको राजकीय भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका अवसरमा उहाँले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जानएको छ । त्यस्तै राष्ट्रपति पौडेलले उहाँको सम्मानमा राजकीय भोजको आयोजना गर्नुहुनेछ । कतारका अमिर शेख थानीले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग द्विपक्षीय वार्ता गर्नुहुने छ । वार्तापछि, दुवै नेताहरू द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहभागी हुनुहुनेछ ।
कतार न्युज एजेन्सीले एसियाली मुलुकको भ्रमणमा अमिरले सम्बन्धित मुलुकका नेता तथा वरिष्ठ अधिकारीहरूसँग सहकार्य अभिवृद्धि गर्ने तथा विभिन्न क्षेत्रमा सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने उल्लेख गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्