हिमालयलाई भूमिस्थ सेवा दिने निर्णय खारेज गर्न निगमको माग

काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले निजी क्षेत्रको हिमालय एयरलाइन्सलाई आफै भूमिस्थ सेवा ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने सम्बन्धमा भएको निर्णय खारेज गर्न माग गरेको छ ।
विश्वका अधिकांश विमानस्थलमा त्यहाँको राष्ट्रिय ध्वजाबाहकबाट नै विमानस्थलको भूमिस्थ सेवा सञ्चालन हुने गरेको परिपेक्ष्यमा नेपालमा पनि हवाई सेवाको शुरुदेखि नै निगमले भूमिस्थ सेवा दिँदै आएको र यस क्षेत्रमा अर्बौ लगानी भएको भन्दै निगमले अन्य संस्थालाई त्यस्तै जिम्मेबारी दिन नहुने जिकिर गरेको छ ।
निगमले आज विज्ञप्ति जारी गर्दै निगमको अनवरत सेवा र प्रविधिक स्रोतसाधनमा गरेको खर्चलाई मध्यनजर गर्दै अन्य कुनै संस्थालाई भूमिस्थ सेवाको जिम्मा दिने निर्णय अहिलेको परिस्थितिमा कुनै पनि हालतमा न्यायिक हुन नसक्ने ठहर गरेको छ ।
‘निगमले विद्यमान अवस्थामा हरेक कोण र स्थितिबाट यस निर्णयलाई कुनै पनि हालतमा न्यायिक हुन नसक्ने ठानेको छ । यस किसिमको निर्णय पर्यटन मन्त्रालयबाट तत्काल कार्यान्वयन नगराउन निर्देशन भएको भन्ने बुझिन आएकाले निगमले यसको खारेज होस् भन्ने आशय व्यक्त गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।
पर्यटनमन्त्री योगेश भट्टराईले यही असोज ११ गते हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङ् दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइसक्नुभएको छ । प्राधिकरणले असोज ९ गते हिमालयलाई सेल्प ग्राउण्ड ह्याण्डलिङको सुविधा दिने निर्णय गरेको थियो ।
पर्यटनमन्त्रीले संवेदनशील विषयमा मन्त्रालय र उच्च नेतृत्वसँग छलफल नै नगरी निर्णय गरिएको भन्दै प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन दिनुभएको थियो ।-






प्रतिक्रिया राख्नुहोस्