पञ्चकुण्ड तालः जहाँ पर्यटक लोभिन्छन् (फोटोफिचर)

म्याग्दी- पर्यटकीय क्षेत्रहरुमा पदयात्रा, हिमालको आरोहण तथा आधारशिविरको यात्रा पर्यटकको रोजाइमा पर्दछ । वसन्त ऋतुको सुरुवातदेखि नै पर्यटकीय चहलपहल बढेको छ भने अहिले देशका पर्यटकीय गन्तव्यहरुमा आन्तरिक र बाह्य पर्यटकहरु भ्रमणमा पुगिरहेका छन् । यो समय पर्यटकहरु घुमफिर गर्न निकै उपयुक्त मानिन्छ ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा पर्ने अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा पनि पछिल्लो समय पर्यटकहरुको चहलपहल बढ्दै जान थालेको छ । आधारशिविरमा पर्यटकलाई आकर्षण गर्ने पञ्चकुण्ड ताल रहेको छ । जहाँ पुगेपछि पर्यटकहरु निकै लोभिन्छन् । वरिपरीबाट सुन्दर हिमालय पर्वतले घेरिएको अन्नपूर्णको आधारशिविरमा रहेको पञ्चकुण्ड ताल निलो रङमा देखिन्छ ।

समुन्द्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा रहेको यो ताललार्ई पञ्चकुण्ड नामकरण गरिएको छ । अन्नपूर्णको प्रथम आधारशिविरसम्म पुग्नका लागि पदमार्ग निर्माण तथा बस्ने ठाउँको व्यवस्था भएपछि पछिल्लोपटक पर्यटकीय गतिविधि बढ्दै जान थालेको हो ।

अन्नपूर्ण हिमालय क्षेत्र आफैमा पनि निकै सुन्दर, मनमोहक र आकर्षक छ । अन्नपूर्णको आधारशिविरमा पुग्दा लागेको थकान बिर्सनुको साथमा स्वर्गीय आनन्दको अनुभूति गर्न पाइन्छ । यसका साथै पञ्चकुण्ड तालको मनोरम दृश्यले पर्यटकलाई निकैबेर भुलाइदिन्छ ।

ताल नजिकै रहेको डाँडो प्राचीनकालको समयमा कागभुषुण्डी ऋषिले तपस्या गरेको मानिन्छ । धार्मिक तथा पर्यटकीय महत्वको पञ्चकुण्ड तालको लम्बाई झण्डै एक किलोमिटर र चौडाइ दुईसय मिटर रहेको अनुमान गरिएको छ ।

तालमा अन्नपूर्ण हिमालको प्रतिबिम्ब अर्थात् (छाया) देख्न सकिन्छ । तालदेखि माथि चारहजार एकसय ९० मिटरको उचाइमा ग्राउण्ड तथा हेलिप्याड र त्यसभन्दा माथि चारहजार तीनसय ५ मिटरको उचाइमा अन्नपूर्ण प्रथम हिमालको आधारशिविर पर्दछ । तालको छेउबाट निलगिरि र अन्नपूर्णको सबै रेन्जलाई धित मरुन्जेल हेर्न पाइन्छ ।

अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा रहेको पञ्चकुण्ड तालमा पानीको मुख्य स्रोत भनेको अन्नपूर्ण प्रथम हिमाल नै हो । अन्नपूर्ण हिमालमा छिनछिनमा हिमपहिरो खसिरहन्छ ।

हिमालय क्षेत्रमा खसिरहने हिमपहिरो निकै रोचक देखिने भएकाले त्यो दृश्य हेर्न त्यहाँ पुग्ने पर्यटकहरु निकै लालायित हुन्छन् । अन्नपूर्ण प्रथम हिमालको पर्यटन प्रवद्र्धन गर्न प्राथमिकता दिएको अन्नपूर्ण गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले पञ्चकुण्ड तालको आसपासमा पर्यटकलक्षित होटल, ताल नजिकै रहेको शिवजीको मन्दिरलाई व्यवस्थित र थप एउटा गुम्बा बनाउन, कागभुषुन्डीको विषयमा लेखोट र मूर्ति निर्माण गर्न तथा आधारशिविरमा गोदामघर निर्माणको लागि आवश्यक पहल थालिएको जानकारी दिनुभयो ।

नारच्याङ गाउँदेखि दुई घण्टा सवारीसाधनको यात्रा गरेर हुमखोला र त्यसपछि मौरिस हर्जोग पदमार्गको झण्डै ८ घण्टाको पैदलयात्रापछि पञ्चकुण्ड तालमा पुगेर रमाउन सकिन्छ । अन्नपूर्ण आधारशिविर पुग्ने यो सबैभन्दा छोटो दुरीको पदमार्गको रुपमा रहेको छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट दुई दिनमा सजिलै अन्नपूर्ण प्रथमको आधारशिविरमा पुग्न सकिन्छ । गुराँसे जङ्गल, फूतफूते झरना र पदमार्ग हुँदै अन्नपूर्ण हिमालको आधारशिविर र पञ्चकुण्ड तालमा आएर रमाउन पाउँदा आफूले स्वर्गीय आनन्दको अनुभूति गर्न पाएको बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले अनुभव सुनाउनुभयो ।

सन् १९५० जुन ३ तारिखको दिन पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले सन् १९५० मा फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुई लचेनलले पाइला टेकेपछि विश्वका ८ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको हो । अहिले अन्नपूर्ण प्रथमको आधारशिविर जाने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण गरिएको छ ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.