सहकारी ठगी प्रकरणमा मेरो कुनै संलग्नता छैन- गृहमन्त्री लामिछाने

प्रतिनिधि सभाको बैठक सोमबार ११ बजे बस्ने

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पार्नुभएको छ।

प्रतिनिधि सभाको आजको बैठकमा गृहमन्त्री लामिछानेले कुनै पत्रपत्रिका र अनलाइनमा समाचार आएको भरमा आफूलाई निरन्तर आरोप लगाएर प्रतिपक्षी दलले अन्याय गरेको बताउनुभएको हो ।

आफूलाई लागेको आरोपका सम्बन्धमा प्रतिनिधि सभाको बैठकमा जवाफ दिनुहुँदै लामिछानेले प्रहरीमा कतैपनि उजुरी नपरेको र अदालतमा पनि कतै मुद्दा दर्ता नभएको विषयलाई उठाएर दोषी करार गर्न खोज्नु आफूलाई मान्य नभएको उल्लेख गर्नुभयो ।

गृहमन्त्री लामिछानेले कसैले समाचार लेखेको भरमा छानविन समिति बनाउने हो भने विगतका कतिपय समाचारको विषयमा पनि सोच्न काँग्रेसलाई आग्रह गर्नुभयो ।

उहाँले केही समाचारमा आएका विषयहरु समेत सदनमा राख्नुभएको थियो ।

गृहमन्त्रीले व्यक्ति केन्द्रीत भएर भन्दा विषय केन्द्रीत भएर छानविनको प्रकृया अघि बढाउनुपर्ने धारणा राख्नुभयो ।

यसअघि, गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न भएको भन्ने विषयमा संसदीय छानविन समिति बनाउनुपर्ने माग राख्दै आएको काँग्रेसले समिति बनाउने विषय दलहरु  सहमत भएपछि आज गृहमन्त्रीलाई संसदमा बोल्न दिने निर्णय गरेको थियो ।

संसदीय छानविन समिति बनाउने सैद्धान्तिक सहमति दलहरुबीच भएपनि कार्यदलले संसदीय समितिको टिओआर कस्तो बनाउने भन्ने विषय भने टुंगो लागाउन सकेको छैन ।

आज पटक पटक बसेको कार्यदलको बैठकले टिओआरमा गृहमन्त्री लामिछानेको नाम राख्ने वा नराख्ने भन्ने विषयमा सहमति बनाउन सकेन ।

काँग्रेसले गृहमन्त्रीको नामै किटान गरेर जानुपर्ने अडान राखेको छ भने सत्तापक्षका सदस्यहरुले गृहमन्त्रीको नाम उल्लेख गर्न नहुने भनेको छ।

कार्यदलको बैठकमा सहमति नभएको विषयमासमेत गृहमन्त्रीले खरो टिप्पणी गर्नुभएको थियो।

पद्धति विरुद्ध कसैलाई सिध्याउने उदेश्य राखेर छानविन समितिको टिओआर नवनाउन गृहमन्त्रीले आग्रह पनि गर्नुभएको थियो ।

गृहमन्त्रीको जवाफसँगै आजको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। बैठक भोलि विहान ११ बजे बस्ने कार्यक्रम छ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.