जनअपेक्षा विपरीतका गतिविधि र सङ्गठनको हित प्रतिकूलका कार्य क्षम्य हुँदैनः उपप्रधानमन्त्री लामिछाने

काठमाडाैँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले जनअपेक्षा विपरीतका गतिविधि र प्रहरी सङ्गठनको हित प्रतिकूलका कार्य कहिल्यै क्षम्य नहुने बताउनुभएको छ ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले विधिको शासन र कानुनको सर्वोच्चतालाई शीरमा राखेर सरकारको नीति, तथा कार्यक्रम र योजनालाई अक्षरशः पालना गर्न निर्देशन दिनुभयो ।

उप्रधानमन्त्री लामिछानेले शान्ति सुरक्षा प्रवद्र्धन, अपराध नियन्त्रण र सार्वजनिक सेवा प्रवाहमा सङ्गठनको प्रतिबद्धता ख्याल गरेर नागरिकमैत्री सेवा दिन ध्यानाकर्षण गराउनुभयो । सङ्गठनको लामो इतिहासको जगेर्ना गर्ने नवप्रवेशी अधिकृतको काँधमा रहेको उल्लेख गर्दै उहाँले आर्थिक तथा पदीय उन्नतिका लागि परिवारले दिने दबाब र प्रभावमा नपर्न निर्देशन दिनुभयो ।

“प्रहरी कर्मचारीको वृत्ति विकासलाई न्याय सङ्गत र सेवासुविधालाई समयानुकूल बनाउन तथा सरुवा बढुवालाई स्वचालित प्रणालीमा लैजान गर्नुपर्ने नीतिगत सुधार र परिमार्जनमा सरकारले उच्च प्राथमिकता दिएको छ”, उहाँले भन्नुभयो । सीमित स्रोत साधनमा असीमित काम गर्नुपर्ने परिस्थितिलाई मनन् गरेर काम गर्न आग्रह गर्दै उपप्रधानमन्त्री लामिछानेले नीतिगत, कानूनी, व्यावसायिक र व्यवहारिक रुपमा प्राथमिकता निर्धारण गरी आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले तथ्यपरक तथा प्रमाणमुखी अनुसन्धानका लागि प्रविधिको प्रयोग विधिसम्मत, वैज्ञानिक र कार्यविधिगत प्रक्रियाको पालना गरी सङ्कलित तथ्यको विश्लेषण गर्दै मानवअधिकारको अन्तर्राष्ट्रिय मापदण्डलाई शिरोधार्य गरी कार्यक्षेत्रमा खटिन निर्देशन दिनुभयो । उहाँले लैङ्गिक संवेदनशीलताको मर्मलाई मनन् गर्दै विशेष जोखिमपूर्ण, सीमान्तकृत र पीडित वर्गको रक्षकका रुपमा प्रहरी सङ्गठन खरो रुपमा उत्रिनुपर्ने बताउनुभयो ।

समारोहमा प्रशिक्षणमा विभिन्न विधामा सर्वोत्कृष्ट हुने प्रहरी निरीक्षक पवनकुमार परियार, सगुन खड्का, आयुष ढुङ्गाना र गोकुलकुमार धानुकलाई पुरस्कार प्रदान गरिएको थियो । सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीले दीक्षित भई कार्यक्षेत्रमा जाने प्रहरी अधिकृतलाई सपथ ग्रहण गराउनुभएको थियो ।

समारोहमा प्रशिक्षार्थीले प्रधानमन्त्री, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा प्रहरी महानिरीक्षकलगायतलाई राष्ट्रिय सलामी अर्पण गरेका थिए ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.