पुराना राणाकालिन कानून सरकारले संशोधन गर्छ : उद्योगमन्त्री रावत

सुर्खेत- कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्गबहादुर रावतले कर्णालीमा औद्योगिकरणको विकास लागि बाधकका रुपमा रहेका कानूनलाई परिमार्जन गरेर उद्योगमैत्री वातावरण बनाउन सरकार जुटेको बताउनु भएको छ । आज सुर्खेतको वीरेन्द्रनगरमा नेपाल घरेलु तथा साना उद्योग महासंघको ३५ औं वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावतले उद्योगीहरुले भोग्नु परेका समस्या समाधान गर्न सम्बन्धित पुराना राणाकालिन कानूनहरु सरकार संसोधन गर्ने तयारीमा रहेको जानकारी दिनु भएको हो ।
उहाँले औद्योगिक क्षेत्रमा कानून संशाेधन गर्नु अघि नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल उद्योग वाणिज्य संघ, नेपाल चेम्वर अफ कमर्सलगायतका संघसंस्थाहरुसँग छलफल समेत गरिने बताउनु भयो । औद्योगिक क्षेत्रको विकासबिना कर्णालीको विकास सम्भव नहुने बताउँदै उहाँले यसलाई राष्ट्रिय बहसको रुपमा उठाउन जरुरी रहेको बताउनु भयो ।
‘कर्णालीमा औद्योगिक क्षेत्रको सान्दर्भिकतालाई महत्व नदिएसम्म विकासले गति प्राप्त गर्न सक्दैन्,’ उहाँले भन्नु भयो, ‘यतिका वर्षसम्म आईपुग्दा कर्णालीमा औद्योगिक क्षेत्रको विकास जसरी हुनुपर्ने हो, त्यो हुन सकेन ।’ उहाँले उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने गरी हिजोमात्रै आएको नीति तथा कार्यक्रममा केही समावेश भएपनि तिनलाई बजेटमै राख्न आफु लागि परेको जनाउनु भयो ।
अनुदान दिने प्रवृत्तिले सक्कली भन्दा नक्कली उद्यमीका कारण राज्यको लगानी दुरुपयोग भएको पाईएको भन्दै उहाँले त्यसलाई रोक्न पनि प्रदेश सरकार जुटेको बताउनु भयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेश अध्यक्ष चन्द्रबहादुर विसीले औद्योगिक पूर्वाधार विकासमा राज्यको सहुलियत अपेक्षाकृत हुन नसक्दा सोचेजस्तो प्रगति हुन नसकेको बताउनु भयो । उहाँले उद्योगी उद्यमशिलतालाई राज्यले अहिलेपनि महत्व दिन नसकेको गुनासो गर्नु भयो । भौगोलिक बनावट र आर्थिक अवस्थामा आधारित औद्योगिक नीति निर्माण गरी साना उद्यमी विकास कोष, महिला उद्यमी विकास कोष र प्रविधि विकास कोष राज्यले स्थापना गर्नुपर्ने उहाँको भनाइ थियो ।।






प्रतिक्रिया राख्नुहोस्