स्विट्जरल्यान्ड र जर्मनीको भ्रमणका लागि राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज स्वीट्जरल्याण्डको जेनेभा प्रस्थान गर्नु भएको छ ।

प्रस्थान गर्नुअघि राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड. सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल लगायत उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख तथा कुटनीतिक नियोगका अधिकारीका साथै सरकारी उच्च अधिकारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा विदाई गर्नु भएको थियो ।

फोटो: केशब राज विष्ट

राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सम्मान गारथ सहित सलामी अर्पण गरेको थियो । राष्ट्रपति पौडेलको यो पहिलो युरोप भ्रमण हो । उहाँले स्वीजरल्याण्डको जेनेभामा यही जेठ ३१ गते आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उच्चस्तरीय सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उहाँले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो ।

राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.