राष्ट्रिय परिचयपत्र: राज्यले सुविधा दिने हो सास्ती होइन 

काठमाडौँ- सरकारले आगामी आर्थिक बर्ष २०८१।०२ बाट सामाजिक सुरक्षा बापतको रकम प्रदान गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य रुपमा पेश गर्नुपर्ने ब्यवस्था गरेसँगै देशभरिका बृद्दबृद्दाहरु समस्यामा परेका छन । बुढेसकालमा परिचय पत्र बनाउन सरकारी कार्यालय धाउन बाध्य बनेका उनीहरु सरकारी कार्यालयमा घन्टौंसम्म कुर्नुपर्दा हैरान भएका छन। कतिपय अक्सिजन सिलिण्डर साथै लिएर राष्ट्रिय परिचय पत्र बनाउने लाइनमा लममबद्ध भएका खबरहरु सार्वजनिक भइरहेका छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ कि ९२ वर्षीय विष्णु कुमारी ढकाल हिजोआज राष्ट्रिय परिचय पत्र बनाउन जिल्ला प्रशासन कार्यालयमा कुरेर बस्नुभएको छ । कार्यालयले तत्कालै परिचय पत्र बनाउन नसक्दा बुढेसकालमा घन्टौंसम्म घर बाहिर कुर्नु परेको ढकालको गुनासो छ । ढकाल मात्रै होइन, हेटौंडा १ कि ८२ वर्षीय सुनमाया स्याङ्तानलाई पनि राष्ट्रिय परिचयपत्र बनाउन घन्टौं कुर्नु परेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उहाँहरु जस्तै थुप्रै बृद्द बृद्दाहरु हिजोआज दैनिक धाइरहेका छन । कतिपय बृद्बृद्दाले त राष्ट्रिय परिचय पत्र लिनका लागि तीन दिनसम्म कुर्नु परेको गुनासो गरेका छन ।

सामाजिक सुरक्षा बापतको भत्ता दिँद सेवाग्राहीले अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र पेश गर्नुपर्ने भएपछि देशैभरका जिल्ला प्रशासन कार्यालयहरुमा बृद्द बृद्दाहरुको भिड नै लागेको छ । सरकारले साउन १ गतदेखि अनिवार्य रुपमा राष्ट्रिय परिचय पत्र लिएर मात्रै भत्ता वितरणको काम गर्न देशैभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरेको छ । सरकारले गरेको परिपत्र अनुसार परिचय पत्र वितरणको काम अघि बढाइएको र सकेसम्म सरल ढंगले वितरण गर्ने प्रयास गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरमा हाल तीनवटा विवरण दर्ता स्टेसनमार्फत दैनिक दुई सय जनाको परिचय पत्र सम्बन्धि कार्य हुँदै आएको छ । राष्ट्रिय परिचयपत्रको लागि दैनिक पाँच सयसम्म सेवाग्रही आउने गरेको छन् ।मकावनापुर मात्र होइन देशैभरका जिल्ला प्रशासन कार्यालयहरुमा परिचय पत्र बनाउने बृद्ध बृद्धाहरुको चाप उल्लेख्य बृद्धि भएको छ ।बृद्दभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य भएपछि देशैभरका सिडियो कार्यालयमा परिचयपत्र लिने बृद्दबुद्दाको भिड/३ दिन धाउँदा पनि परिचयपत्र नबनेको कतिपयको गुनासो रहेको छ ।सरकारले राज्यबाट पेन्सन लगाएतका सुविधा लिइरहेका नागरिकहरुले सामाजिक सुरक्षा भत्ता लिन नपाउन भनी दोहोरो सुविधा दिने कार्य रोक्ने समेत उद्देस्यले राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने व्यवस्था गरेको हो । यस्तो व्यवस्था राम्रो भएपनि बुढेसकालमा घन्टौंसम्म लाइन बस्नुपर्ने बाध्यता सृजना गरेर आफूहरुलाई ठूलो सास्ती दिएको जेष्ठ नागरिकहरुले टिप्पणि गरेका छन ।

सरकारको यो निर्णय विकट हिमाली तथा दुर्गम जिल्लाका गाँउहरुमा मात्र होइन राजधानी काठमाडौंकै नगरपालिका भित्र कार्यान्वन गर्न सहज नहुने जनप्रतिनिधि बताउछन् ।

काठमाडौँको नागार्जनु नगरपालिका वडा नम्बर १ का अध्यक्ष रामेश्वर लामा  आफ्नो वडा भित्र रहेका सामाजिका सुरक्षा भत्ता लिने सवै सेवाग्राहीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्न घर घरमै घुम्ति सेवा नै संचालन गर्नुपर्ने अवस्था रहेको बताउनु हुन्छ ।

”वडामा सामाजिक सुरक्षा भत्ता बुझ्ने  बृद्ध, बृद्धा र अपाङ्गगता भएका एवम अशक्तता भएकाहरुलाई  परिचय पत्र बनाउँ अनि मात्र भत्ता दिन्छौ भनेर कसरी भन्ने ?  कतिपयलाई उहाँहरु रहेकै स्थानमा गएर विवरण संकलनदेखि वायोम्यट्रिक लिनुपर्ने अवस्था छ । त्यस्ता नागरिकहरुले चाहेर पनि सरकारले तोकेको ठाउँमा पुगेर परिचय पत्र बनाउने अवस्था छैन । उनिहरुका लागि राज्यले घरमै सेवा दिने गरी विशेष कार्यक्रम संचालन नगरेसम्म यसलाई पूर्ण कार्यान्वनय लैजान सहज देखिदैन । निर्णय सँगै व्यवहारिक कुरा पनि हेरिनु पर्छ । राज्यले सुविधा दिने हो सास्ती होइन । अध्यक्ष लामा भन्नु हुन्छ ।

 

सरकारी तथ्याङक अनुसार  गत फागुनसम्म देशमा सामाजिक शुरक्षा भत्ता प्राप्त गर्ने नागरिकहरुको संख्या ३८ लाख २ सय ७७  पुगेको छ ।

जसमा ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या १६ लाख २२ हजार ५ सय १६ छ । ६० वर्ष नाघेका दलित १ लाख ५८ हजार २ सय ६१, ६० वर्ष काटेका एकल महिला ज्येष्ठ नागरिक १ लाख ९८ हजार २ सय ७०, विधवा महिला ५ लाख ७६ हजर ५ सय ५३, पूर्ण अपांगता भएका ६६ हजार ४ सय ५२ जना छन् ।

यस्तै, अति अशक्त अपांगता भएका १ लाख ४२ हजार १ सय ८५, तोकिएको क्षेत्रका बालबालिका ७ लाख ६१ हजार ९३, दलित बालबालिका ३ लाख ४२ हजार १ सय ७६, लोपोन्मुख जाति २२ हजार २ सय ४७, ६० वर्ष कटेका ज्येष्ठ नागरिक क्षेत्र तोकिएका १६ हजार ८ सय ४४ छन् ।

 

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.