पर्याप्त वर्षा नहुँदा रुपन्देहीमा धान रोपाइँ प्रभावित

रुपन्देही- मनसुन भित्रिएको धेरै दिन भैसक्दा पनि यसवर्ष पर्याप्त वर्षा नहुँदा रुपन्देही जिल्लामा धान रोपाइँ प्रभावित भएको छ । सिँचाई सुविधा पुगेका केही स्थानका किसानले रोपाइँ गरे पनि आकाशे पानीमा निर्भर जिल्लाका अधिकांश किसानको खेत बाँझो छ ।

रुपन्देही जिल्लामा असारको दोस्रो हप्ता सकिन लाग्दा ५ प्रतिशत खेतमा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र रुपन्देहीको अनुमान छ । लामो समयको खडेरीले गर्दा निकै कम मात्रामा रोपाइँ भएको छ ।

सिंचाइ सुविधा भएका खेतमा समेत खडेरीले पानीका श्रोत सुकेका कारण रोपाइ हुन नसकेको कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालले जानाकारी दिनुभयो । विगतका बर्षमा यतिबेला झण्डै ५० प्रतिशत रोपाइ हुने रुपन्देहीमा अहिलेसम्म ५ प्रतिशत रोपाइँ हुनुले उत्पादन घट्ने जोखिम देखिएको छ । चर्को गर्मीमा ब्याड सुक्ने चिन्ताले रुपन्देहिका किसानलाइ सताएको छ ।

यस वर्ष विगतका वर्षमा भन्दा बढी वर्षा हुने मौसमविद्ले बताएपनि रुपन्देहीमा हालसम्म रोपाइँ गर्न मिल्ने गरी वर्षा भएको छैन । निरन्तरको गर्मीले किसानहरु सहज रुपमा खेतमा जान समेत सकेका छैनन् ।

रुपन्देहीमा सबैभन्दा बढी सिंचाई सुविधा रहेको तिलोत्तमा नगरपालिकाको खेतमा किसानले रोपाइँ सुरु गरेका छन् । तर तिनाउ नदीको पानीबाट सञ्चालित यस सिंचाई प्रणालीमा समेत पर्याप्त पानी नहुँदा किसानहरु रोपाइँका लागि तछाड मछाड गर्नुपर्ने बाध्यतामा छन् । रुपन्देहीमा ६३ हजार चारसय ९७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.