लमजुङ- लमजुङमा पहिरोमा परेर मृत्यु हुनेको सँख्या ५ पुग्यो

लमजुङ- अविरल बर्षासंगै लमजुङको दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको सँख्या पाँच पुगेको छ । गएराती देखि शुरुभएको बर्षासँगै क्व्होलासोथार गाउँपालिका–३ बगुममा तीन घर बगाउदा एकै परिवारका चारजनाको मृत्यु भएको हो ।
अविरल वर्षासंगै बगुमस्थित पच्यु टोलमा पहिरो गएको हो । स्थानीय रूद्रमान गुरूङ, पञ्चकुमारी गुरूङ र चित्र घलेको घर पहिरोले बगाएको हो । पहिरोमा परेर ६९ वर्षीय रूद्रमान गुरूङ, ३६ वर्षिय पञ्चकुमारी गुरूङ, उनका दुई छोरीहरू ७ वर्षिया ईच्छा गुरूङ र ५ बर्षिया नम्रता गुरूङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मध्यराती गएको पहिरोमा परेर बेपत्ता भएकाहरुको विहान ११ः३० पछि मात्रै शव फेला परेको क्व्होलासोथार गाउँपालिका वडा नम्वर–३ का अध्यक्ष आशविर गुरुङले जानकारी दिनुभयो ।
स्थानियसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि पनि घटनास्थल पुगेर शव खोजी कार्य गरेका हुन् । सदरमुकामदेखि घटनास्थलसम्म पुग्दा बाटोमा पहिरोकै कारण सडक अवरुद्ध भएकोले जिल्लाबाट खटिएको सैनिक प्रहरीको टोलि घटनास्थल पुग्न निकै समय लागेको थियो ।
त्यसैगरी गएरातीकै पहिरोका कारण दोर्दी गाउँपालिका–९, स्याउतमा पनि एक जनाको मृत्यु भएको छ । घरमाथिबाट आएको पहिरोले कोठामा सुतिरहेका १६ बर्षिय विकल सुनारको मृत्यु भएको हो । पहिरोमा परेर गम्भीर घाईते भएका विकललाई उपचारको लागी लमजुङ अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको हो । स्थानियका अनुसार विकल एसईई दिएर नतिजाको पखाईमा थिए ।
सोहि पहिरोमा परेर विकलका दाजु १८ वर्षिय विमल सुनार पनि घाईते भएका छन् । घाईते सुनारको लमजुङ अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी बर्षासँगै भएको चट्याङका कारण क्होलासोँथार–७ चरागाउँमा पनि एकजनाको मृत्यु भएको छ । घटनाबारे जानकारी आएसँगै प्रहरी चौकी गिलुङबाट प्रहरी टोली चरागाउँ पुगेर घटनाको पुष्टि गरेको हो । चट्याङबाट मृत्यु हुनेमा चरागाउँ केम्लीका ६५ वर्षीय दानबहादुर भुजेल रहेका छन् । मंगलबार राती २ बजेतिर पिसाव फेर्न बाहिर निस्केको बेलामा चट्याङ लागेको स्थानीयले बताएका छन् ।
यसैगरी चट्याङका कारण राइनास नगरपालिका–९ ढाड कलाउँचेका ३८ वर्षीय रामचन्द्र अधिकारी घाइते भएका छन् । उनको सुन्दरबजारस्थित नमुना अस्पतालमा उपचार भइहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी मिनबहादुर घलेले जानकारी दिनुभयो ।
चट्याङका कारण सदरमुकाम बेसीशहर नगरपालिका ६, शेराका मदन परियारको एउटा गोरु मरेको छ । विभिन्न क्षेत्रमा बिद्दुतिय सामाग्रीमा क्षति पुगेको खवर प्राप्त भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.