स्थानीय आन्दोलित हुँदा रुपाताल परियोजनाको काम अलपत्र

कास्की- कास्कीको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको तालमा बाँध बाँध्ने काम ठप्प भएको छ । तालको मापदण्ड र मुअब्जा विवाद नसुल्झाई काम अगाडी बढाइएको भन्दै स्थानीय उपभोक्ताले अघिल्लो सातादेखि परियोजनाको काम रोकेका हुन् ।

तालको तल्लो भागमा बाँध बाँधेर अहिलेको भन्दा ठूलो बनाउँदै संरक्षण गरी पर्यटकीय विकास गर्ने लक्ष्यसहित २०७३ सालमा सुरु भएको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाको काम ठप्प भएको हो ।

तालको मापदण्ड र मुअब्जा विवाद नसुल्झाई काम अगाडी बढाइएको भन्दै स्थानीय उपभोक्ताले संघर्ष समिति गठन गरी अघिल्लो सातादेखि परियोजनाको काम रोकेका छन् । संघर्ष समितिले यसअघि परियोजनाले रोक्का गरेको जग्गा फुकुवा हुनुपर्ने र चलनचल्तीको दर अनुसार मुआब्जा पाउनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएको जनाएको छ ।

परियोजनालाई तालको किनाराबाट आवश्यक ६५ मिटर जग्गा दिन स्थानीय तयार रहेको भएपनि ताल किनाराको रुपातालको मापदण्ड १०० मिटरसम्म तोकिएकोले मापदण्ड घटाउन र रोक्कामा रहेका घर जग्गा फुकुवा गर्ने काम नभएपछि अवरोध गर्नुपरेको स्थानियको भनाई छ ।

परियोजनाले घर जग्गा रोक्का राखेको भएपनि फुकुवाको लागी स्थानीयको माग पालिकाले सम्बोधन गर्न सक्ने अवस्था नरहेकोले सर्वोच्चले रुपातालमाथि गरेको फैसला एक पटक पुनर्विचार गर्नुपर्ने रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाको भनाइ छ ।

कालिका नयाँ बाटो जेभी निर्माण कम्पनीले करिब २८ करोड रुपैयाँमा ६ सय ३० मिटर लामो र ६ मिटर उचाइको बाँध बाँध्ने सम्झौता गरेको भएपनि स्थानीय वासिन्दा आन्दोलित हुँदासम्म रुपातालमा बाँध बाँध्ने कामको थालनी हुन सक्ने अबस्था छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.